नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ : अर्थमन्त्री डा. खतिवडा

yubraj khatiwada
लाेकपाटी न्यूज

काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त अरब इमिरेट्सलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताएका छन् ।

आज अर्थ मन्त्रालयमा संयुक्त अरब इमिरेट्सका राजदूत साईद हमदास अलनाकवी बीचको शिष्टाचार भेटवार्तामा अर्थ मन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन्।

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले अरबसँग भएको स्रोत नेपालमा लगानीको लागि अवसर सम्भव भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालको सिंचाई, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषि जस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण भएको बताए ।

मन्त्री खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयनको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने स्पष्ट पारे। उनले नेपालमा पर्यटन वर्ष २०२० मनाउन लागिएको सन्दर्भमा अरबका अर्थमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै अरबी नागरिकलाई राजदूत मार्फत निमन्त्रणा सन्देश पठाई नेपाल भ्रमणमा आउन आग्रह गरे।

नेपालका अर्थमन्त्रीलाई संयुक्त अरब इमिरेट्सको भ्रमणको लागि त्यहाँका अर्थमन्त्रीको निमन्त्रणा रहेको बताउँदै राजदूत अलनाकवीले नेपालको हवाई सेवा तथा अन्य क्षेत्रमा लगानी आकर्षित गर्न दोहोरो कर मुक्ती सम्झौता गर्न आवश्यक भएको बताए । उनकाे जिज्ञासाप्रति मन्त्री खतिवडाले नेपाल त्यसका लागि छलफल गर्न खुल्ला भएको भन्दै प्रक्रिया अगाडि बढाउन तयार भएको स्पष्ट पारे।

राजदूतले नेपाललाई आर्थिक साझेदारीको रुपमा व्यापार सहजीकरणको लागि विशेष सुविधा उपलब्ध गराउन तयार भएको जानकारी गराए। अरब सरकारले नेपालमा पाँच वटा सुख्खा बन्दरगाहा बनाउन इच्छा व्यक्त गरेको समेत राजदूतले धारणा राखे। भेटमा दुई देशबीचको द्धिपक्षीय पारस्परिक सम्बन्ध अझै प्रगाढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा व्यक्त भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्