प्रधानमन्त्री इमरान खान काश्मीर भ्रमणमा

Imran_Khan
रासस न्यूज

काठमाडाैं, २९ साउन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मीरको भ्रमण गरेका छन्। प्रधानमन्त्री खानले काश्मीर भ्रमण पश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।

भारत सरकारले भारत प्रशासित जम्मु काश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनावको स्थिति छ। पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ। पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन ।

यसै साताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए। अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।