वित्तीय संस्थाको विकृति नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

Padma Aryal (11)
लाेकपाटी न्यूज

काठमाडौं, २८ साउन। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छिन्। स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुँदै गएको बताइन्। तर, त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताइन्। ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो। त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब सिस्टमबाटै समस्यासमाधान गर्ने हो। हामीले अवलम्बन गरेका विधि विधानमा केही समस्या छ भने त्यसलाई सच्चाउँ।’

Padma Aryal

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने बताइन्। उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानैपर्छ।’ सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण गरिएन भने भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन्।

‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि भयानक दुर्घटनाको संकेत देखा पर्नेछ’, उनले भनिन्, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ। हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौं।’ सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भए पनि अब व्यवहारमै लागू हुने गरी कार्यान्वयन गरिने उनले बताइन्। नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउदै त्यसमार्फत् अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्