अमेरिकाले ल्यायो नयाँ आप्रवासन नीति , नेपालीसमेत प्रभावित

Donald Trump
लाेकपाटी न्यूज

वाशिंटन डीसी, २८ साउन। अमेरिकाले नेपालीहरुलाई समेत प्रभावित बनाउने गरी नयाँ आप्रवासन नीति ल्याएको छ। नयाँ नियमअनुसार अमेरिका जान चाहने नेपालीहरुले यसअघि लागू भएभन्दा अधिक आयस्रोत देखाउनु पर्नेछ।

नयाँ आप्रवासन नियम अनुसार अमेरिकामा वैध रुपमा बसोबास गरिरहेका आप्रवासीले कुनै सामाजिक कार्यक्रमबाट फाइदा लिइरहेको भए उनीहरु अमेरिकी स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्डका लागि अयोग्य हुनेछन्। त्यस्तै, अमेरिका प्रवेश गर्नुभन्दा पहिले सम्भावित आप्रवासीले अध्यागमन अधिकारीलाई आफूले कुनै सामाजिक कार्यक्रमबाट फाइदा नलिने विश्वस्त पार्नुपर्ने नयाँ नियममा उल्लेख छ।

त्यसो गर्न नसकेको खण्डमा आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिइने छैन। यो नियम अमेरिका आउन चाहने सम्भावित आप्रवासी वा अमेरिकामा बसोबास गरिरहेका तर, ग्रिन कार्ड नपाइसकेका वैध आप्रवासीमा समेत लागू हुनेछ।

यसअनुसार अमेरिकाका सामाजिक कार्यक्रमहरु मेडिकेड, हाउजिङ असिस्टेन्ट वा फूड स्टाम्पलगायतका सामाजिक कार्यक्रको सेवा लिइरहेका आप्रवासीलाई पनि यो नयाँ नियमले समेटेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।अमेरिकाको अध्यागमन तथा नागरिकता सेवाका कार्यकारी निर्देशक केन कुचनेलीले नयाँ नियम सार्वजनिक गर्दै अमेरिका आउने आप्रवासीहरु सामाजिक कार्यक्रममार्फत अमेरिकी करदाताका लागि भार बन्दै आएका कारण यस्तो नियम ल्याइएको जनाएका हुन्।

अब अमेरिका आउने आप्रवासीले पनि त्यस्तै गर्नुपर्ने उनको भनाइ छ।यसअघि पनि अमेरिका आउने सम्भावित आप्रवासीले आफ्नो आयश्रोत देखाउनु पर्ने प्रावधान छ। तर, पछिल्लो नियमले भने उच्च आयश्रोत देखाउनुपर्ने अवस्था आउन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

यसबाट कम आयश्रोत भएका आप्रवासीलाई अमेरिका आउन थप चुनौतिपूर्ण हुने विश्लेषण गरिएको छ। यसबाट करिब ३ लाख ८३ हजारभन्दा धेरै प्रभावित हुनसक्ने अनुमान छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति अनुसार नयाँ नियम सार्वजनिक गरिएको हो। राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहने आप्रवासीलाई दक्षता तथा प्रतिभाका आधारमा आउनुपर्ने बताउँदै आएका छन्।

यसबाट अमेरिका आउने आप्रवासीको सङ्ख्या धेरै नै कटौती हुने तथा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई सजिलै ग्रिनकार्ड अस्वीकार गर्न बाटो खुल्ला हुने विश्लेषण गरिएको छ।