विमानस्थलबाट नबाेली हिँडेका प्रधानमन्त्रीले गरे यस्ताे ट्विट

Kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २७ साउन। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्याेपचार गरेर करिब दश दिनपछि सोमबार स्वदेश फिर्ता भएका छन् । सिंगापुरबाट स्वास्थ्योपचारपछि फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा भने खासै प्रतिक्रिया जनाएनन्।

स्वागतमा घेरिएकाे समूहकाे बीचमा उनले यति मात्र भने ‘मेरो स्वास्थ्यावस्था हेर्दै थाहा भयो होला नि !’ सचिवालयले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएन।

विमानस्थलमा स्वास्थ्यका बारेमा केही सूचना नदिएका प्रधानमन्त्री ओलीले दिउँसो ट्विटर मार्फत भने सामान्य जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले ट्विटमार्फत ‘आफू ठीक रहेको’ जानकारी गराएका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नुहुने सबै दिदीबहिनी–दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।’

उनले ट्विटबाट सामान्य जानकारी गराए पनि प्रधानमन्त्रीको सचिवालयले पत्रकार सम्मेलन गरेर मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जानकारी नगराएकाले  अन्यौल निवारण भने भएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्