काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिराज अधिकारी ‘कुमार’ले नेकपा जनताकाे बहुदलीय जनवादकाे ह्याङबाट मुक्त हुनुपर्ने बताएका छन्।
उनले पूर्वसहमतिका आधारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने पनि बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी र सरकारको नेतृत्व संयुक्त रुपमा गर्ने लिखित सम्झौता कार्यान्वयन हुने उनले विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाका लागि गोरखाबाट निर्वाचित सांसद अधिकारीले भने, ‘जिम्मेवार नेताहरुबीचमा लिखित रुपमा भएको सम्झौताको पालना गरे मात्र एकताको मर्मबाेध गरेको ठहर्छ । लिखित सहमति सत्ताको खेल नभई पार्टी एकताको दस्तावेज हो ।’ सहमति विरुद्ध उभिनेहरु एकताविरोधी भएको उनकाे भनाइ छ।
पार्टी एकतापछिको विचारबारे प्रष्ट पार्दै अधिकारीले तत्कालीन जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौँ सताब्दी जनवादको ‘ह्याङ’बाट मुक्त हुन समेत नेता र कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘माओवादीको हेटौँडा महाधिवेशन र एमालेको नवौँ महाधिवेशनको भावलाई पकडेर जनताको जनवादमा जाने भन्ने पार्टीको आधिकारिक नीति हो । यसले लिएको ‘लाइन’ ध्यान नदिई पूरानै विचारका आधारमा अभिव्यक्ति दिनु ठीक होइन ।’
सांसद अधिकारीले बहुआयामिक राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजनाको काम अगाडि नबढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । ‘स्थानीय जनता आशंकित र आक्रोशित भइरहेका छन्, छिटो काम हुनुपर्यो भनेर दवाब दिइरहेका छन्’ उनले भने, ‘कर्मचारीतन्त्र र राजनीतिका दलालले काम रोकिरहेका छन् ।’
बुढीगण्डकी परियोजना समयमै बनाउन सदनमा समेत माग गर्दै आएको अधिकारीले बताए । सोको लागि आफूले शीर्ष नेताहरुलाई समेत दवाब दिइरहेको र नेकपाका अध्यक्ष प्रचण्डले विशेष चासो दिइरहेको उनले खुलाए । मुआब्जा सम्बन्धि काम गत वर्ष नै सकिनु पर्नेमा कर्मचारीतन्त्र र राजनीतिक दलालका कारण काम अगाडि नबढेको उनको भनाई छ ।



लाेकपाटी न्यूज

