मङ्सिर १४ काे उपनिर्वाचन बहिस्कार गर्ने वैद्य माओवादीकाे घाेषणा

Mohan Baidya
लाेकपाटी न्यूज

काठमाडौं, २६ साउन । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मङ्सिर १४ गते हुने भनिएकाे उपनिर्वाचन बहिस्कार गर्ने घाेषणा गरेको छ । सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहसमेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्न उपनिर्वाचन हुँदैछ । ‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ,’ बैठकपछि महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै भारत सरकारले हालै संविधानको धारा ३७० र ३५ (क) लाई खारेज गर्नुका साथै जम्मु–काश्मीरबाट लद्दाखलाई अलग गराउने निर्णय जनताप्रति गम्भिर विश्वासघात भन्दै भारत सरकारको उक्त नीति र निर्णयको विरोध गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त राज्य अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोजेको भन्दै अमेरिकी सरकारद्वारा दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत ५० करोड अमेरिकी डलर लिने नेपाल सरकारको निर्णयको विरोध गर्दै अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्द प्रशान्त रणनीतिमा सम्मिलित नहुन, सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अंगाल्न सरकारसित जोडदार माग गरेको छ ।

त्यसैगरी हाल नेपालमा सङ्क्रमणकालीन न्यायबारे राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा हुँदै आएको भन्दै सरकारद्वारा आफैं गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानूनहरुको निर्माण र अन्य सहयोग प्रदान गर्ने काममा हद दर्जाको उपेक्षा र असहयोग गरी विघटित गरिएको सो पार्टीले जनाएको छ ।

वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस स्थितिमा हाम्रो पार्टी उपयुक्त कानुनहरुको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरुलाई पुनर्गठित तुल्याई समस्याको समुचित समाधान निकाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुसित समेत विशेष आग्रह गर्दछ।’