गलत रगत दिँदा बालिकाकाे निधन, १५ कर्मचारीलाई साेधियाे स्पष्टिकरण

लाेकपाटी न्यूज

काठमाडौं, २६ साउन । काठमाडाैंकाे बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन गलत समूहको रगतकै कारणले भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलको छानविनपछि बालिकाको निधन गलत रगतकै कारणले भएको हुँदा उपचारमा संलग्न १० देखि १५ जना कर्मचारीलाई स्पष्टीकरणको लागि पत्र काटेको काउन्सिलले जनाएको छ ।

वैशाख २३ गते मुटुको भल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको थियो । बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको भन्दै छानविनका लागि काउन्सिलमा निवेदन परेको थियो ।

यसै निवेदनको बारेमा काउन्सिलका इथिकल कमिटीका संयोजक तथा वरिष्ठ डा।ढुण्डीराज पौडेलले गलत रगतकै कारणले बालिकाको निधन भएको बताए । पौडेलले बालिकाको रोग जटिल र उच्चस्तरको शल्यक्रिया गरे पनि बाच्ने सम्भावना निकै कम भए पनि गलत समूहको रगतको कारणले गर्दा झनै समस्या भएपछि निधन भएको बताए ।

बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ भए पनि ‘ए पोजेटिभ’ समूहको रगत दिइएको थियो । रोग जस्तो सुकै भए पनि नागरिक उपचारको लागि अस्पताल आइसके पछि उपचार पाउनुपर्ने अधिकार भएको बताउँदै आकृतिको केसमा भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमबाट गल्ती भएको वरिष्ठ डाक्टर पौडेलले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्