भारतीय कांग्रेसको अध्यक्षमा फेरि साेनिया गान्धी

sonia gandhi
लाेकपाटी न्यूज

एजेन्सी। भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ। कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीकी पूर्वअध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो।

कांग्रेस नेता गुलाम नबी आजाद र हरीश रावतले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको र राहुल गान्धीको राजीनामा स्वीकृत गरेको जानकारी दिए। यस्तै, कांग्रेस कार्यसमिति बैठकले राहुल गान्धीले पार्टीका एउटा आशाको किरण छर्ने काम गरेको पार्टीले ठहर गरेको छ। कुशल नेतृत्वका लागि पार्टीले राहुल गान्धीलाई धन्यवाद व्यक्त गरेको छ।

लोकसभा चुनावमा भोगेको पराजयपछि गान्धीले राजीनामा दिएका थिए। उनको राजीनामा पार्टीले स्वीकार गरेको छ। तर पार्टीलाई अगाडि बढाउन राहुल गान्धीले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ। त्यस्तै प्रदेश नेताहरुको राहुल गान्धीलाई नै अध्यक्ष बनाउने प्रस्ताव पनि कार्यसमितले खारेज गरेको छ।

पूर्णकालीन अध्यक्ष चयन नहुँदासम्मका लागि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको छ। त्यस्तै जम्मू–कश्मीरका विषयमा पनि कांग्रेसको कार्यसमितिमा चर्चा भएको छ। कार्यसमिति बैठकले जम्मू–कश्मीरका विषयमा सरकारसँग विपक्षी पार्टीहरुको एउटा समूहलाई त्यहाँको बस्तु स्थिति जान्नका लागि जान दिन अनुरोध गर्ने बताएको छ।

भारतीय कांग्रेसको नयाँ अध्यक्षका लागि शशि थरुर, ज्योतिरादित्य सिन्धिया, मुकुल वास्निकलगायतका नेताको नाम चर्चामा रहेको छ ।