संघीयता जुन मर्मका साथ ल्याएका थियौं, लागू त्यसरी गरिएन : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, २५ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जुन मर्मका साथ स‌ंघीयता ल्याइएकाे थियाे त्यसरी लागु नभएकाे बताएका छन् ।

उनले राज्य संयन्त्रका प्रमूख जिम्मेवारीमा विगतको केन्द्रीकृत मानसिकता भएका व्यक्तिहरूको हालिमुहाली भएकाले संघीयता कार्यान्वयनमा अपेक्षाअनुसारको परिणाम नआएकाे बताए । पछिल्लो समय जनतामा संघीयताप्रति असन्तुष्टि बढाउने गरी प्रशासनिक तहबाट काम भइरहेको समेत उनले आशंका व्यक्त गरे।

चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले गाउँ–गाउँमा सिंहदरबारको अधिकार जाओस् र जनताले सुख र समृद्धिको अनुभूति गरून् भन्ने अपेक्षा राखेर गणतन्त्र र संघीयताका लागि लडेकोमा त्यसअनुसार काम हुन नसकेकोमा चिन्ता र आक्रोश व्यक्त गरे। उनले भने, ‘हामीले सोचेको एउटा चिज थियो भइराखेको अर्कै छ। हामीले रोपेको एउटा चिज थियो उम्रिन अर्कै खोजिराख्या छ। रोपेको जस्तो चिज उम्रिन खोजिराखेको छैन।’ यस्तो हुनुका पछाडि संघीयता कार्यान्वयन गर्ने निकायमा समस्या रहेको प्रचण्डको भनाइ थियो।

कसको कारणले संघीय प्रणालीको कार्यान्वयनमा समस्या आइरहेको छ भन्ने कुरालाई उठाउँदै उनले भने, ‘पुरानो राज्य संयन्त्रबाट प्रशिक्षितहरू अहिले पनि कर्मचारीतन्त्रमा छन्। राजा महाराजाको व्यक्ति केन्द्रित स्कुलबाट प्रशिक्षित भएकाहरू केन्द्रीकृत सत्ता बलियो हुँदै जाओस् भन्ने चाहन्छन्।’ संघीयतालाई अप्ठेरोमा पार्न चाहनेहरूले कुतर्क गरिरहेको प्रचण्डको भनाइ थियो।

उनले स्थानीय तहमा नै नागरिकताका समस्या समाधान होऊन्, रोजगारी, स्वास्थ्य शिक्षाका समस्या समाधान होऊन् भन्ने चाहेको तर अभ्यासमा भने संघीयताको नाममा जनतामाथि भार थप्ने र समस्या ल्याउने गरिएको बताए। उनले भने, ‘जिल्लामा भएका संरचना पनि प्रदेशमा लगिएको छ। चार पाँच जिल्लाको एउटै कार्यालय राखिएको छ। हिजो कुनै काम सदरमुकाममा हुन्थ्यो, त्यसलाई स्थानीय तहमा लैजाने भनेको तर विगतमा जिल्लामा हुने कामका लागि प्रदेशमा जानुपर्ने अवस्था आयो।’

फरक प्रसङ्गमा उनले नेकपाको सरकार सफल भयो भने मुलुकले नयाँ दिशा लिने र समृद्धिकाे सपना पूरा हुने नभए यो पुस्ता नै असफल हुने बताए। उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि राम्रो काम नगर्ने हो भने हाम्रो पुस्ताका लागि राम्रो काम गर्ने अर्को पार्टी नै छैन। हामी असफल भयौँ भने राष्ट्र असफल हुन्छ। हामी असफल भयौँ भने कसैले पनि मुलुक सम्हाल्न सक्ने सम्भावना छैन।’