विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न निर्देशन

hong-Kong a
लाेकपाटी न्यूज

काठमाडौं, २५ साउन । हङ्कङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनले निर्देशन दिएको थियो। हङ्कङ– हङ्कङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकका कर्मचारी शहरमा जारी प्रदर्शनको समर्थन गरेपछि चीन सरकारले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो।

केही दिन अघि क्याथी प्यासिफिकमा काम गर्ने ‘फ्लाइट एटेडेन्ट’ हरुको ट्रेड युनियनले हङ्कङमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो। त्यसपछि चीनले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो।

चीनले निर्देशन दिएसँगै चिनियाँ सामाजिक सञ्जालमा क्याथी प्यासिफिक बहिष्कार गर्नसमेत अभियान चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चीनको निर्देशन र चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको अभियानका कारण क्याथी प्यासिफिकका सञ्चालकहरु भने ती कर्मचारीलाई बर्खास्त गर्न दबाबमा रहेको बताइएको छ।

दुई महिनाअघि हङ्कङमा ल्याइएको विवादास्पद सुपुर्दगी विधेयकका कारण हङ्कङमा शुरु भएको प्रदर्शनले उग्र रुप लिइरहेका बेला क्याथी प्यासिफिकको ट्रेड युनियनले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउन विज्ञप्ति निकालेको थियो।

प्रदर्शनकारीले हाल त्यहाँ अधिक स्वायत्तता र लोकतन्त्रको मागसहित प्रदर्शन गर्दै आएका छन्। हाल प्रदर्शनकारीहरु हङ्कङको विमानस्थल धर्नामा बसिरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्