एजेन्सी । भारतीय टेलिभिजन च्यानल एनडीटीभीका संस्थापक प्रणय रोय र उनकी श्रीमती राधिका रोयलाई विदेश जान लागेको अवस्थामा शुक्रबार मुम्बईको विमानस्थलमा पक्राउ गरिएको छ । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जारी गरेको ‘लुकआउट सर्कुलर (एलओसी)’को आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
एनडीटीभीले भने दुई संस्थापकको पक्राउलाई मिडियाका लागि चेतावनी भएको बताएको छ । च्यानलले जारी गरेको एउटा बयानमा भनिएको छ, ‘मिडियालाई सम्पूर्ण रुपमा नझुकाएसम्म उनीहरु रोकिनेवाला छैनन् । एनडीटिभीको संस्थापक राधिका र प्रणय रोयलाई आज देशबाहिर जान रोकिँदा मिडिया नियमावली उल्लंघन गरिएको छ ।’
मिडिया रिपोर्टहरुका अनुसार रोय दम्पत्ति केन्याको राजधानी नैरोवी जाँदै थिए । एनडीटीभीका अनुसार यी दुईलाई दुई वर्ष पुरानो झुटो र निराधार भ्रष्टाचार मुद्दाका आधारमा रोकिएको हो ।
सीबीआई अधिकारीले बताए अनुसार आईसीआईसीआई बैंकसँग सम्बन्धित जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेकाले उनीहरु विरुद्ध एलओसी जारी गरिएको थियो । दुवैलाई यही निर्देशनको आधारमा देश छाड्न रोकिएको थियो । एलओसी कुनै भारतीय नागरिकलाई देश छाड्न रोक्नको लागि जारी गरिन्छ । तर यसलाई व्यक्तिलाई हिरासतमा लिनको लागि प्रयोग गर्न सकिँदैन ।
शुक्रबार अधिकारीले चलाएको कारबाहीमा अदालतलाई जानकारी नगराइएको एनडीटीभीको आरोप छ । उनीहरु विरुद्ध लागेको भ्रष्टचारको मुद्दा अदालतमा विचाराधीन छ ।
सन् २०१७ जुनमा बैङ्क जालसाजी गरेको आरोपमा प्रणय रोयको घरमा सीबीआईले छापा मारेको थियो । त्यस मुद्दाविरुद्ध प्रणयले अदालतमा पुनरावेदन दिएपछि दुई वर्षदेखि मुद्दा अदालतमा विचाराधीन छ ।
एनडीटीभी भारतमा मोदीको अन्धसमर्थन नगर्ने मुलधारको थोरै टेलिभिजन च्यानलमध्ये पर्छ । यसैले आफूहरुमाथि सरकारको कुदृष्टि परेको टेलिभिजन च्यानलको आरोप छ ।



लाेकपाटी न्यूज

