एक युवती देखाएर ६० लाख ठगी

jel
लाेकपाटी न्यूज

काठमाडौं, २५ साउन। अस्ट्रेलियाको पिआर पाउने सपना देखेका चार जना युवा ठगीएका छन्। ती चार जना युवालाई एउटै युवती प्रयोग गरेर एक कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेका हुन्।

सीता (नाम परिवर्तन) अस्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएकी युवतीलाई प्रयोग गर्दै पुतलीसडकस्थित क्वीन्सल्यान्ड कन्सल्टेन्सीका सञ्चालक मोरङ विराटनगरका ४० वर्षीय मणि निरौलाले लाखौँ ठगी गरेको पाइएको हो।निरौलाले सीतालाई प्रयोग गर्दै ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले शुक्रबार राती निरौलालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले निरौलालाई पुतलीसडकबाट पक्राउ गरेको वृत्तका प्रमूख कौशलकुमार बुढाथोकीले जानकारी दिए। सीतालाई देखाउँदै ४ जना व्यक्तिलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै मणिले प्रतिव्यक्ति १५ लाखको दरले ६० लाख ठगी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको बुढाथोकीले बताए।

विगत केही वर्षअघि सीताको कन्सल्टेन्सीमै निरौलासँग भेट भएको हुनसक्ने प्रहरीको अनुमान छ। सीता अस्ट्रेलियाको पीआर होल्डर भएको बताइएको छ। पहिलो भेटमै उनीहरुबीच ठगीको नयाँ तरिकाको योजना बनेको हुनसक्ने वृत्तका प्रमूख बुढाथोकीले बताए। बुढाथोकीले भने, ‘सीतासँग साँच्चै अस्ट्रेलियाको पीआर छ/छैन अनुसन्धान भइरहेको छ।’

मणिले भने सीता अस्ट्रेलियाको पीआर होल्डर हो भन्दै आफ्नै कन्सल्टेन्सीमार्फत् डिपेन्डेन्ट भिषामा सीतासँग अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएको बताउँदै वृत्तका प्रमूख बुढाथोकीले भने, ‘जो मान्छे आउँछ त्यही महिला देखाउँदै मणिले डिपेन्डेन्ट भिषामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने गर्थे।’४ जनालाई त्यही महिला देखाउँदै ठगी गरेको प्रमाणको आधारमा निरौलालाई पक्राउ गरिएको उनले बताए।

उनले भने, ‘मणिविरुद्ध २२ लाख ५० हजारको चेक बाउन्सको मुद्दा पनि सिंहदरबार वृत्तमा दर्ता भएको थियो। मुद्दा दर्ता भएको कारण प्रहरीले उसलाई खोजिरहेको थियो।’ मणि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सदस्य समेत रहेको पाइएको छ। दोषी प्रमाणित भएमा निरौलालाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रहरीको भनाइ छ।

यता, वैदेशिक रोजगारीका नाममा अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर दलालहरु फरार भएका छन्। उदयपुरका तीन दर्जनभन्दा बढी युवा यसरी नै ठगिन पुगेका छन्।त्रियुगा नगरपालिका ७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले उदयपुरका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाईदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्