भाजपाका वरिष्ठ नेता जेटली अस्पताल भर्ना

jentli pic
लाेकपाटी न्यूज

काठमाडौं, २५ साउन। भाजपाका वरिष्ठ नेता अरुण जेटली विरामी भएपछि अस्पताल भर्ना भएका छन्। दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उनको उपचार भइरहेको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि पूर्व्वित्तमन्त्री जेटलीलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको हो। एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ।

साथै उनको अवस्था स्थिर र ब्लड प्रेसर सामान्य छ।जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए।मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए। स्वास्थ्यमा बेला बेलामा समस्या आउने भएकाले धेरै पटक उनको जिम्मेवारी पीयूष गोयलले सम्हाल्ने गरेका छन्।

सन् २०१९ को फेब्रुअरी महिनामा जेटली उपचारका लागि विदेश गएकाले अन्तरिम बजेट पेश गर्न पाएका थिएनन्। मे महिनामा भाजपा दोस्रो पटक सरकारमा गएपछि उनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर स्वास्थ्यका कारण सरकारको कुनै जिम्मेवारीमा नरहने जानकारी दिएका थिए।