नङमा सेतो धर्सा बसेमा हामी त्यसलाई नङ् फुलेको भन्छौँ। नङ फुलेमा वा नङको रङ परिवर्तन भएमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा यसलाई स्वास्थ्यसँग जोडिएको समस्याको रुपमा लिइने गरिन्छ। नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो मानिँदैन।
नङ विभिन्न स्वास्थ्य कारणले फुल्ने गर्छ। नङमा सेतो दाग देखिनु विज्ञानको भाषामा ल्युकोनाकिया भएको वा म्युरेक्स लाइन भनिने गरिन्छ। नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा नङमा सेतो दाग देखिन थाल्छ। ढोकामा वा ढुंगामा नङ ठोकिदा वा च्याप्दा सेतो दागहरु आउन थाल्छ।
मानिसको शरीरमा जिंक, प्रोटिन तथा क्याल्सियमको कमिका कारण नङमा सेतो धर्सा वा दाग देखिन थाल्छ। जिंक, प्रोटिन तथा क्याल्सियम प्राप्त हुने सन्तुलित भोजन खाएमा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ। दैनिक खाने भोजनमा गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट, सुन्तलाको जुस, दुध लगायत खानेकुरालाई समावेश गरेमा पोषणको मात्रा शरीरमा सामान्य अवस्थामा आएमा म्युरेक्स लाइन आफै हराउन थाल्छ।
नङ फुल्नु शरीरमा भएको केही गम्भीर रोगको लक्षण समेत हुन सक्छ। केही दिनमै नङको सेतो दाग हराएमा चिन्ता लिनु पर्दैन। तर, यस्तो दाग लामो समयसम्म देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। धेरै नङ फुलेमा यसले लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण समेत हुने पाइएको छ।
साथै, नङ पोलिसको एलर्जीका कारण पनि नङमा सेतो दाग आउने गर्छ। यदि गम्भीर रोगको लक्षण नभएमा नङमा भएको दागलाई हटाउने सरल उपायहरु छन्। यस्तो समस्या हुदा भिटामिन ई वा बडी लोसनले हातलाई मोश्चराइज गर्नु पर्छ। मोश्चराइजर प्रयोग गर्दा नङको छालामा पनि छुने गरि प्रयोग गर्नुपर्छ। क्याल्सियम, प्रोटिन, जिंक युक्त प्रसस्त खानेकुरा खाने गर्दा पनि केही हदसम्म नङ फुल्ने समस्याबाट समाधान पाउन सकिन्छ ।
हातखुट्टाका नङको रङले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा पूर्ण जानकारी गराउँछ। कलेजो, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्यक्तिको नङबाट थाहा हुन्छ। नङको काम हातखुट्टाका औंलाको सौन्दर्य बढाउनुमात्र होइन, यसले शरीरभित्र गुप्त रूपमा रहेका रोगहरूका बारेमा पनि संकेत दिन्छ।
शरीरभित्र कुनै अंगप्रत्यंगमा के कस्तो किसिमको खराबी छ, या हुने सम्भावना छ भनेर नङले आफ्नो आकार, प्रकार र रङ परिवर्तन, पातलो, मोटोखस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदिजस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ।
नङको मुनितिर कुनै गहिरो रङको धर्सो छ भने यसले कुनै गम्भीर रोग छ वा हुनेतर्फ संकेत गर्छ। जतिसक्दो चाँडै परीक्षण गराउनुपर्छ। यो लक्षणले छालाको क्यान्सर भएको संकेत दिन्छ। यसैगरी नङको रङ नीलो हुन थाल्यो भने अस्थमा तथा मुटु रोगको संकेत हो।
नङको पहेँलो रङमा परिवर्तन हुनु क्यान्सरजस्तो घातक रोगको संकेत हुनसक्छ। घडीको सिसा आकारको नङले टीबी, फोक्सोको ट्युमर, मुटुको पुरानो रोगको संकेत दिन्छ। यस्तै चम्मच आकारको नङले सिफिलिस, छालासम्बन्धी रोग तथा मानसिक समस्या छ भन्ने संकेत दिन्छ।
नङमा डाँडाको टुप्पोजस्तो खस्रो धर्सो देखिन्छ भने यो प्रकृतिगत रूपमा वंशानुगत हो। यसबाट अर्थराइटिस, कोलाइटिसजस्तो रोग छ या हुनसक्ने सम्भावनाको संकेत गर्छ। नङ नीलो हुँदै गइरहेको छ भने अक्सिजनको कमी, श्वासप्रश्वासको रोग या मुटुरोगको कारण हुनसक्छ।
नङको रङ आधा गुलाबी र आधा सेतो देखिन्छ भने मधुमेह रोगतर्फ संकेत गर्छ। एकदमै सेतो नङले एनिमिया, डायबिटिज या कलेजोसम्बन्धी कुनै रोग छ या हुनेतर्फ संकेत गर्छ।



लाेकपाटी न्यूज

