प्रदेश प्रमूखको संविधानविरोधी भाषण : ‘आरक्षणको अन्त्य हुनुपर्छ’

baburam kunwar
लाेकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताएका छन्।

क्षेत्री समाज नेपाल गण्डकी प्रदेशद्वारा विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कुँवरले संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको, सबै नेपाली बराबर रहेको र क्षेत्री जाति आफैमा पहिचान भएको बताए।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खस, क्षेत्री आदिवासी जाति विषय कार्यपत्र पेश गरेका थिए। सो कार्यपत्रमाथि समाजका सल्लाहकार प्रा.डा. ज्ञानबहादुर कार्कीले टिप्पणीसहित कार्यपत्रमार्फत् आएका बुँदा र विगतका माग मुद्दालाई समाजले अगाडि बढाउनुपर्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले केही टाठा–बाठाका क्षणिक स्वार्थले देशपछि परेको बताए। गण्डकी प्रदेश सदस्य कृष्ण थापाले समाजले सधै जातीय सद्भाव पूर्ण कार्य गरेको बताए।

समाजका महासचिव केशबहादुर केसीले देशको सम्पूर्ण परिवर्तनमा समाजले खेलेको भूमिका र अधिकारका लागि देशव्यापी कार्यक्रम गरिने बताए। गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेत, केन्द्रीय पूर्व अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापा, प्रदेशका बरिष्ठ उपाध्यक्ष इन्द्रमान खत्री, सचिव लक्ष्मी अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्