भाैतिक सुखले मात्र आदर्श समाज बन्दैन : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भावुक प्रकृतिको भएको भए पनि देशको तत्कालनि परिस्थितिले विद्रोही भएको बताएका छन् ।

शुक्रबार आयोजित शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘म साहित्य रुचाउने भावुक मान्छे । तर, मलाई त्यो बेलाको परिस्थितिले विद्रोही नेता बनायो । फेरि म त्यस्तो विद्रोही नेता हुँ, जस्को हातबाट कसैले एक लबेटा पनि खाएको छैन ।’

तत्कालिन देशको विकृति, बेथिति र परिस्थितिले आफूलाई विद्रोही बन्न र विद्रोहमा होमिन उत्प्रेरित गरेको उनको भनाइ थियो । उनले भने, ‘म पहिलादेखि नै साहित्यमा रुचि राख्थेँ तर मलाई समय र परिस्थितिले विद्रोहको नेतृत्व गर्ने तहमा पुर्‍यायो ।देशका विकृति, बेथितिबाट आजित भएर नै म विद्रोहमा होमिएको हुँ ।’

उनले सबै एकापसमा मिलेर देश बनाउनुको विकल्प नभएको समेत स्पष्ट पारे । उनले भने, ‘अहिले आपसमा मिलेर हामीले देश बनाउनुको विकल्प छैन । हामीले जनताले जे खोजेका छन् त्यो प्राप्त भएन भन्ने जनगुनासा सुनेका छौं । तर, हामीलाई यो कुराको ज्ञान छ । र, हामी जनअपेक्षाअनुसारकै काम गर्न अग्रसर भइरहेको छौं ।’

उनले राजनीतकि दल, साहित्यकार तथा सांस्कृतिक अभियन्ता लगायतका सबैको सक्रियता र सहकार्यमा देशमा समृद्धि आउने बताए । भौतिक सुख सुविधाले मात्र आदर्श समाजको कल्पना गर्न नसकिने बताउँदै उनले मनोवैज्ञानिक रुपले पनि परिवर्तन हुनुपर्ने बताए । त्यस्का लागि शमी मासिक साहित्यिक पत्रिकाजस्ता पत्रिकाको प्रकाशनले सहयोग पुग्ने भन्दै उनले प्रकाशन टीमप्रति धन्यवाद व्यक्त गरे ।