जीवन चम्काउने दश सुत्र

Happy family life
लाेकपाटी न्यूज

काठमाडौं। प्राणी जगतमा मानव नै सबैभन्दा उत्कृष्ट प्राणी हो। हामीले हाम्रो जीवन कस्तो बनाउने ? त्यो भने हाम्रै हातमा छ। जीवन चम्काउन निम्न दश सुत्रलाई जीवनमा लागू गर्नुहोस्।

आफ्नो लक्ष्य निर्धारण गर्नुहोस्, सधै त्यसमा कठिवद्ध भएर लाग्नुहोस्। लक्ष्य बिनाको मानिस कहिल्यै सफलतामा पुग्न सक्दैन। साथै लक्ष्य मात्र किटान गरेर पुग्दैन, त्यहाँसम्म पुग्ने बलियो संकल्प चाहिन्छ।

डरलाई सधैभरि जित्नुहोस्। म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुवी र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखि टाढा राख्नुहोस्, त्यसले तपाईलाई सफलतासम्म लैजान्छ।

धैर्यशील रहनुहोस्। एक रातमै सफल हुन सकिँदैन भन्ने तथ्य बुझ्नुहोस्। लगातारको मेहेनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस्। यसले तपाईलाई प्रतिकूल परिस्थितिमा पनि प्रतिज्ञाप्रति कठोर बन्न सिकाउँछ।

धेरै सोचेर र योजना बनाएर नबस्नुहोस्। कुनै काम गर्नु छ भने त्यसबारे आवश्यक जाँचबुझ गर्नुहोस्, तथ्यहरु लिनुस्। तर, निष्कर्षमा पुगेपछि अलमलमा नबस्नुस्, तुरुन्तै निर्णय गर्नुहोस् र कार्वान्वयनमा जानुहोस्।

सधै खुल्ला सोच राख्नुहोस्। जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुल्नहोस्। एउटा योजनामा असफल हुनेबित्तिकै निराश नहुनुहोस्। सधैं बिकल्प राखेर सोच्नुस्, एउटा बिकल्पमा असफलता हात लाग्नेबित्तिकै बिकल्पहरुको प्रभावकारिताको अध्ययन सुरु गर्नुस्।

सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको सङ्घर्ष र त्याग नै हो। त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भने नडराउनुहोस्। त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस्। फजुल कुराभन्दा प्रेरणादायी सामग्री खोज्नुस् र पढ्नुस्।

आफू सही बाटोमा छु कि छैन भनेर सधैभरि सचेत रहनुहोस्। यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहेनत गरे पनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन। साधनाका साथै परिणामको पनि लेखाजोखा गर्नुहोस्। बालुवामा पानी मात्र हाल्ने व्यवहार बदल्नुस्।

लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकी छ भन्दा पनि कति बाटो हिँडी सकें भनेर सधैभरि ख्याल राख्नहोस्। यसले एकातर्फ आफूले गरेको मेहेनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ।

मानिसलाई सफलताका लागि पैसाको पनि आवश्यकता पर्छ। आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस्। पैसा र यसको व्यवस्थापनबारे ज्ञान राख्नुहोस्। अनावश्यक कुरामा फजुल खर्च र आवश्यक कुरामा कञ्जुस्याई दुवै अतिवाद बच्नुहोस्।

सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको संगत गर्नुहोस्। आलोचना गर्नेहरुबाट नजिक हुनुहोस्। उनीहरुको कुरा सुन्नुहोस् र आत्मसमीक्षा गर्नुहोस्। यसले लक्ष्यमा पुग्न सकारात्मक प्रेरणा मिल्छ।