कश्मीर विवादः ४ जनाभन्दा बढीलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध

लाेकपाटी न्यूज

काठमाडाैं । हालै भारत सरकारले जम्मू कश्मीर राज्यको विशेष राज्यका मान्यता खारेज गरेपछि कश्मीर उपत्यकामा प्रदर्शन भइरहेकाे छ । कश्मीरमा कफ्र्यु लागू गरिएको तथा अधिकांश राजनीतिक तथा धार्मिक नेताहरुलाई गिरफ्तार गरिएपछि कश्मीरमा छिटफुट मात्र प्रदर्शन भएको हो ।

४ जनाभन्दा धेरैलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध लगाइएको र टेलिफोन इन्टरनेटसहितका सूचना तथा सञ्चारका माध्यम बन्द रहेकाले ती प्रदर्शनहरु संगठित भने हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गामुढा प्रहार गरेका थिए भने जवाफमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

कर्फ्यू लागेका कारण राजधानी श्रीनगरसहित कश्मीरका अधिकांश मुख्य शहरका बजार, पसल र कलकारखानाहरु बन्द रहेको बताइएको छ । गत सोमबार केन्द्र सरकारले भारतीय संविधानको धारा ३७० तथा ३५ ए खारेज गरी जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खोसेपछि कश्मीरमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।