काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको विषय विवादित बनेको छ।
आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको जानकारी गराएका थिए। साे विषयलाई लिएर विवाद उत्पन्न हुन सुरु भएकाे हाे ।
मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा राजेन्द्र महतो र अन्य ७ जनाको नागरिकता खारेज गरिएको निर्णय छ। (निर्णय नं ११ झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ, अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो।)
निर्णयमा विभिन्न व्यक्तिहरुको नाम राखिएको तर उनीहरुको वास्तविक ठेगाना र अन्य विवरण केही पनि उल्लेख नगरेपछि यसबारे अनेक शंका उब्जिएका हुन्। कतिपयले राजेन्द्र महतोको नामलाई राजपाका नेता राजेन्द्र महतोको नामसँग जोडेर व्याख्या गर्दा अन्योल देखिएको हो।
यसबारे गृहमन्त्रालय भने छुट्टाछुट्टै रुपमा स्पष्टिकरण दिन बाध्य भएको छ। मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले नागरिकता खारेजीमा परेका राजेन्द्र महतो पूर्व मन्त्री एवम् राजपा नेता नभएको स्पष्ट पारे।
आइतबारको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजेन्द्र महतोसहित राजेश्वर महतो, विन्दे महतो, दानादेवी महत्तो, रामकिशोर महतो, राजकुमार महतो, सोशिल महतो र अशोक साहले झुठो विवरण पेश गरेर नागरिकता लिएको भन्दै खारेज गरिएको बताएका थिए।
गृहमन्त्रालयका सूचना अधिकारी अधिकारीले नागरिकता खारेज गरिएका व्यक्ति राजपा नेता नभएको र पत्रकार सम्मेलनमा पूरा विवरण उल्लेख नगर्दा भ्रम फैलिएको बताए। अधिकारीले भने, ‘हामीले सम्पूर्ण विवरण पठाएका थियौँ उच्चारण गर्दा फरक पर्यो होला, उनी राजपा नेता महतो होइनन्।’
नागरिकता खारेज गरिएका राजेन्द्र महतो को हुन् भन्नेबारे भने सूचना अधिकारी उमाकान्तले पनि विवरण बताएनन्।



लाेकपाटी न्यूज

