पार्टी एकताको बाँकी काम विधिसंवत् टुङ्गिन्छ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडाैं, १९ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पार्टी एकताको बाँकी काम केही दिनभित्रै विधिसंवत् टुङ्गिने बताएकी छन् । उनले कार्यकर्तालाई विचलन नभई इमानदारीका साथ जनताको सेवा गर्न आग्रह पनि गरेकी छन् ।

आइतबार स्याङ्जाको फेदिखोला गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले पार्टी एकतामा भएको ढिलाइबारे नेतृत्वले मनन गरेको भन्दै विधि संवत् एकताको बाँकी काम टुङ्गिने बताएकी हुन् ।

‘पार्टी एकताको काम लगभग लगभग टुङ्गिएको छ’, मन्त्री अर्यालले भनिन्, ‘सुरूवातमा जसरी थालनी भएको थियो, अब बाँकी रहेको काम पनि विधि संवत् टुङ्गिन्छ । तपाईंहरू नआत्तनुहोला । एकतामा भएको ढिलाइको असर हामीले मनन गरेका छौं ।’

मन्त्री अर्यालले नेकपा नेतृत्वको पार्टी र सरकार जनताको जीवन बदल्न लागिपरेको भन्दै इमानदारसाथ सेवा गर्न पनि आग्रह गरिन् । उनले भनिन्, ‘हामी सबैलाई थाहा छ, दुई तिहाइ प्राप्त सरकारमाथि जनताको आकांक्षा धेरै छ । हामीले जनताको अनुहारमा खुशी देख्ने गरी काम गरिरहेका छौं । कतिपनि विचलित नभई तपाईंहरू जनताको सेवा गर्न लाग्नुहोला । प्रत्येक लिडरले एउटा गाउँको जिम्मा लिने हो ।’

उनले यथास्थितिमा बसेर जनताको आकांक्षा पूरा नहुने भन्दै हिजोको कुराहरू फेर्नुपर्ने समेत बतान्। उनले भनिन्, ‘यथास्थितिमा बसेर जनताको आकांक्षा पूरा हुँदैन । परिवर्तनका लागि हिजोको कुरा फेर्नुपर्छ । केही नयाँ काम गरौं भन्दा जे कुरामा पनि विरोध हुने बानि छ । सरकारले ल्याएको विधेयकमा विरोध भइरहेको छ । हामीले व्यवस्थित गर्न अहिले विधेयक ल्याएका हौं । गुठी विधेयकमा पाना नपल्टाइ विरोधीले जनतालाई सडकमा झार्ने काम गरे । हामीले निजी गुठीलाई चलाएका थिएनौं।’

विपक्षीले बिनाकारण संसद अवरोध गरेकोमा समेत मन्त्री अर्यालले असन्तुष्टि व्यक्त गरेकी छन् ।