काठमाडौं, १९ साउन। पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा भक्कानिएर रोएका छन्। आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि एक कार्यक्रम राखेको थियो।
उक्त कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। २०४३ सालमा नेता नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै भट्टराई भक्कानिएका हुन्।
भट्टराईले भने, ‘२०४३ सालमा पंचायत निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि म त्यही अनुसार दिनरात नभनी खटिएँ। त्यसपछि एक्कासी बिरामी भएँछु। टिचिङ अस्पतालका डाक्टरहरूले मेरो बाँच्ने आशा नरहेको बताइसकेका थिए। त्यतिबेलै उहाँ (माधवकुमार नेपाल)मलाई भेट्न आउँनुभयो। उनको एक स्पर्शले मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो।’
भट्टराईले यसो भनिरहँदा नेता नेपाल पनि सुँक्क सुँक्क गरिरहेका थिए। भट्टराईले पटक पटक माधवकुमार नेपाल आफ्नो अविभावक भएको दोहोर्याइरहे। बैठकमा नेता नेपालले भट्टराईलाई आफूले सधैं माया गरिरहेको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए।



लाेकपाटी न्यूज

