एजेन्सी। अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारी भएको छ। यसमा कम्तिमा २० मानिस मारिएको खबर छ। स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो।
यो स्थान अमेरिका–मेक्सिको सीमानाको केही माइल मात्रै टाढा छ। प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ता गरिएको छ।
गोलीबारीको संलग्नताको आशंकामा प्रहरीले एक जना श्वेत युवकलाई हिरासतमा लिएको छ। प्रहरीले यो गोलीबारी एउटै व्यक्तिले गरेको जस्तो देखिएको बताएको छ। गोलीबारी भएको मलका सिसिटिभीमा देखिएका तस्विरका आधारमा उक्त युवकलाई पक्राउ गरिएको हो।
अमेरिकी मिडियाले पक्राउ पर्ने व्यक्तिको नाम २१ वर्षीया प्याट्रिक क्रुसियस बताएको छ। उनी डालास क्षेत्रको बासिन्दा भएको विश्वास गरिएको छ। प्रहरीका अनुसार सुरुमा सिएलो विस्ता मल र त्यस नजिकको वाल मार्ट मलमा गोलीबारी भएको भएको रिपोर्ट आएको थियो । तर अन्य स्थानको भने गोलीबारी नभएको अनुसन्धानले देखाएको छ।
प्रहरी प्रवक्ताका अनुसार, प्रारम्भिक रिपोर्टमा गोलीबारीको लागि एउटा राइफल प्रयोग गरिएको जस्तो देखिएको छ। एल पासोका मेयर डी मार्गोले मिडियासँग कुरा गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै भने ,‘ हाम्रो सहरमा पनि यस्तो घटना होला भनेर हामीले सोचेका पनि थिएनौं ।मलाई निक्कै दुःख लागेको छ।’ घटनाप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन्।



लाेकपाटी न्यूज

