चितवन, १७ साउन। चितवनको शैक्षिक धरोहरको रुपमा रहेको शहिद स्मृति बहुमूखी क्याम्पसमा राजनीतिक भागबण्डाको कारण धारासयी बन्दै गएको छ। पटक–पटक राजनीति नियुक्तकै भरमा क्याम्पस प्रमूख र सहायक प्रमूख नियुक्तका कारण क्याम्पसको शैक्षिक स्थिति धारासयी बनेको छ।
पछिल्लो पटक गएको फागुनदेखि क्याम्पसको प्रशासनिक भवनमा लागेको ताला खोल्न नसक्दा विद्यार्थीको शैक्षिक भविष्यमाथि धक्का लाग्ने देखिएको स्थानीयहरु बताउछन्। यस्तै, स्नातक प्रथम वर्षमा पढ्ने विद्यार्थीहरुको परीक्षा फर्म गत मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुमा पठाई सक्नुपर्ने भए पनि प्रशासनिक भवनमा लागेको तालाका कारण फर्म पठाउन नसकिएको क्याम्पस प्रमूख राधा बालिकाले बताइन्।
क्याम्पसमा यतिबेला सत्ता पक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस निकट भई नियुक्त भएका प्राध्यापकहरुको मनोमानी उत्कर्षमा पुग्दा क्याम्पसको अवस्था दयनीय देखिन्छ। पछिल्लो समयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न १० बुदेँ माग राख्दै लगाइएको ताला खोल्न क्याम्पस प्रशासन लचिलो नबन्दा सयौँ विद्यार्थीको शैक्षिक करिअरमा धक्का लागेको एक प्राध्यापकले बताए।
गत फागुनबाट लागेको ताला बीचमा केही दिन खुले पनि लगत्तै विद्यार्थी संगठनले प्रशासनिक भवनमा ताल लगाएका हुन्। यसअघि अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघले राखेका मागसमेत पूरा हुन सकेको छैन। नाम नबताउने सर्त क्याम्पसका एक कर्मचारी भने, ‘हामी त हैरान छौँ, एउटा पार्टी एउटा नियुक्त गर्छ, अनि उसको मनपरि सुरु हुन्छ, अनि विद्यार्थी र अर्कोलाई मन पर्दैन, अनि त ताला लागि हाल्यो, उनले अगाडि थपे ‘यो भागवण्डा प्रथा अन्त्य नभएसम्म यो समस्या यस्तै हो।’
आगामी भदौबाट हुने स्नातक प्रथम वर्षको परीक्षाका लागि ७ सयभन्दा बढी विद्यार्थीको फर्म बल्खु पठाई सक्नुपर्ने थियो। तर, प्रशासनमा विद्यार्थीले ताला लगाएपछि समस्या उत्पन्न भएको छ। प्रशासनमा ताला लाग्दा प्राध्यापक तथा कर्मचारीहरुलाई तलब खुवाउनसमेत असहयोग परेको क्याम्पस प्रशासनको भनाइ रहेको छ, जसका कारण प्राध्यापकहरुमा समेत नैराश्यता बढेको छ।



लाेकपाटी न्यूज

