‘कपडा छोडेर जानुस्, रोजेर लैजानुस्’

kapada bank pic
लाेकपाटी न्यूज

चितवन, १७ साउन। चितवनको सौराहा चोकमा कपडा बैँक स्थापना भएको छ। सामाजिक जागरण युवा समूह सौराहाका युवाहरुको सक्रियतामा यही साउन १५ गतदेखी सौराहा चोकमा यो बैंक सञ्चालनमा आएको संस्थाकी अध्यक्ष रिजा जोशीले जानकारी दिइन्।

विपन्न र विपद परेका व्यक्तिलाई कपडाको आवश्यकतालाई महशुस गर्दै बैंक सञ्चालन गरिएको उनले बताइन्। आफूले लगाएका पुराना तथा पुनःप्रयोग गर्न मिल्ने खालका कपडा सो बैंकमा सहयोग गर्न सकिने उनले बताइन्।

‘आफूले लगाइसकेको तर अझै पनि प्रयोग गर्न मिल्ने खालको कपडा छन् भने हामीले सुरू गरेको कपडा बैंकमा ल्याएर जम्मा गर्न सक्नुहुन्छ’, उनले भनिन्, ‘किनकी कतिपयको घरमा साइज नमिलेर पनि कपडा त्यत्तिकै बसेको हुन्छ, फाल्न पनि मन लाग्दैन। जोकसैलाई सहजै दिन पनि अप्ठ्यारो भएमा अब यहाँ ल्याएर राखिदिए आवश्यक पर्नेले सित्तैमा लैजान सक्छन्।’

यस बैंक सञ्चालन गर्न सुमन थापाले आफ्नो हजुरबुवा, हजुरआमाको स्मृतिमा सहयोग गरेको अध्यक्ष जोशीले जानकारी दिइन्। यस्तै यस बैंक स्थापना गर्नमा अभियन्ता नेत्र गुरुङको पनि सहयोग रहेको उनले बताइन्। भारतको एक कपडा बैंकको भाइरल फोटो देखेर आफूहरु प्रभावित भएको र राजधानीलगायत अन्य ठाउँमा पनि खुलिसकेकाले सञ्चालन गरिएको जोशीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्