काठमाडौं, १७ साउन। एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ। मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो।
मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए। ‘तत्काल निरन्तर र भारी वर्षाको संभावना नरहे पनि धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने गतिविधि विकास भइरहेको छ’–बिहीबार साँझ उनले नेपाल समाचारपत्रसँग भने ।
न्यूनचापीय रेखा भारतको गंगानगर, अलाहवाद, कलकत्ता, बंगालको खाडीको शिर आसपासको भेगमा सरेको अवस्थालाई मौसमविद्हरु सामान्य अवस्थाका रुपमा बुझ्ने गर्छन्।काल्पनिक यस्तो रेखा ती क्षेत्रबाट भारतको उत्तरी दिशातर्फ सरेपछि नेपाली भू–भागमा मनसुनी प्रभाव पर्ने गर्छ भने ‘इन्डोग्याङगेटिक प्लेन’ भन्दा तल सरेको अवस्थामा मनसुन निस्कृय हुने गर्छ। मनसुनी रेखा नेपाल नजिक सरेपछि नेपालमा भारी वर्षा हुने गरेको प्रधानाङ्गले प्रष्ट्याए।



लाेकपाटी न्यूज
