सर्वदलीय बैठक बस्दै

Krishna Bdr Mahara
लाेकपाटी न्यूज

काठमाडौं, १६ साउन। सर्लाहीमा कुमार पौडेलको मृत्युको विषयलाई लिएर गरिएको अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख कृष्णबहादुर महराले आज (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख महराले जानकारी दिए। बिहीबार २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको महराले बताए।

प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमै १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको र आजै समस्या समाधानका लागि पहल हुने दाबी गरिएको छ।

सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले बुधबार पनि सदनको अवरोध गरेका थिए। प्रमूख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही ईञ्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ ।

पौडेलको मृत्यु मुठभेडमा नभई हत्या भएको काँग्रेसको दाबी छ । गृहमन्त्री थापाले भने दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको सदनमा जानकारी दिएका थिए। गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेसले अवरोध जारी राखेको हो ।

सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन् ।

समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहेका सभामुख महराले आजको सर्वदलीय बैठकबाट निर्णय लिने तयारी गरेका छन् । बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्