काठमाडौं, १४ साउन । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानीएको छ। कलंकीमाई मन्दिरछेउमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानिएको हो।
सोमबार राति करिब ९ बजे शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटे लगत्तै घरका सदस्यले प्रहरीलाई खबर गरे। ‘हामी गएर हेर्दा पेस्तोल नभई सानो २/२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भयो’, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमूख उत्तमराज सुवेदी भन्छन, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्छ।’
गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको सुवेदीले बताए। हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ। तर, घटनापछि कसैको नियत थियो र थिएन भन्ने अझै निक्र्योल भइसकेको छैन।
‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ।’



लाेकपाटी न्यूज
