डेजाभु क्लबका अध्यक्ष श्रेष्ठ पक्राउ

Club_deja_vu
लाेकपाटी न्यूज

काठमाडौं, १४ साउन। काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब) का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। गत पुसदेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका श्रेष्ठविरुद्ध प्रहरीले गत पुस १० गते इन्टरपोलमा डिफ्युजन नोटिससमेत जारी गरेको थियो। श्रेष्ठले दरबारमार्गस्थित डेजाभु क्लबको मर्मतका लागि भन्दै विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए। तर, उनले ऋण नतिरी विश्वरामलाई आफू अध्यक्ष रहेको डेजाभु प्रालिका नाममा रहेको बैंकको खाताको चेक दिएका थिए।

तर, बैंकले खातामा पैसा नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो।चेक बाउन्स भएपछि विश्वरामले गत पुस ९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा मनोज श्रेष्ठविरुद्ध बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए। आइतबार पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्