काठमाडौं, १४ साउन। प्रमूख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) विदेश भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ भने प्रचण्ड आज(मंगलबार) युएईको दुबई जाँदै छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आउँदो साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन्।प्रधानमन्त्री ओली १० दिने सिंगापुर भ्रमणमा जान लागेको सचिवालय स्रोतले जानकारी दिएको छ।
स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो। आर्मी अस्पतालमा उनको मिर्गौलाको वायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएको बुझिएको छ।
पछिल्लो समय प्रधानमन्त्रीको दौड्धुप बढ्दा स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।यस्तै, अर्का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आज (मंगलबार) युएईको दुबई प्रस्थान गर्न लागेका हुन्। प्रचण्ड दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन्।
पत्नी सीताको उपचारका लागि युएई जान लागेको भनिए पनि प्रचण्डको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डको चार दिने युएई भ्रमणलाई नीजी भ्रमण भनिएको छ। विभागीय प्रमूखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको विदेश भ्रमणबारे जानकारी गराइएको थियो।



लाेकपाटी न्यूज

