सान होजे, १३ साउन। अमेरिकाको क्यालिफोर्निया राज्यमा अदुवा महोत्सवमा बन्दुकधारीले आक्रमण गर्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यको गिलरोय शहरमा आयोजित गार्लिक फेष्टिभल भनिने अदुवाका परिकारको महोत्सव चलिरहेका बेला बन्दुकधारीले जथाभावी गोली प्रहार गरेका थिए।
गोलीकाण्डमा ३ जना मारिनुका साथै अरु १५ जना घाइते भएको गिलरोय शहरको प्रहरीले जनाएको छ।गोली चल्न थालेको केही मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसलगत्तै प्रहरीको गोली लागेर बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ। गोलीकाण्डमा दुई बन्दुकधारीको सहभागिता रहेको प्रहरीको भनाइ छ।
तर, गोलीकाण्डमा उनको सहभागिता कस्तो प्रकारको थियो भन्ने अनुसन्धान भइरहेको र उनको खोजीकार्य भइरहेको अधिकारीले जनाएका छन्। आक्रमण हुनुको कारणबारे केही स्पष्ट भइसकेको छैन। अमेरिकी नागरिकलाई बन्दुक राख्ने संवैधानिक अधिकार रहेकाले त्यहाँ बेलाबेला यस्ता गोलीकाण्ड हुँदै आएका छन्। गोलीकाण्डका कारण हरेक वर्ष हजारौंको ज्यान जाने गरेको छ।



लाेकपाटी न्यूज

