एसईई पूरकको मुखैमा परीक्षा नियन्त्रक परिवर्तन

13
लाेकपाटी न्यूज

काठमाडौं, १३ साउन । एसईई पूरक परीक्षाको मुखैमा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक परिवर्तन गरेको छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उपसचिव रामराज खकुरेललाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ।

उपसचिव खकुरेल यसअघि शिक्षक सेवा आयोगमा कार्यरत थिए। सोमबार अधिकारी मन्त्रालयमा हाजिर हुने र खकुरेलले निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्ने छन्। पूर्वपरीक्षा नियन्त्रक अधिकारीले अनलाइनखबरसँग भने, ‘म आजबाट मन्त्रालयमा हाजिर हुँदैछु।’

राष्ट्रिय परीक्षा बोर्डको संशोधित तालिकाअनुसार भदौ १ गतेदेखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन हुँदैछ। यसअघि साउन २६ र २७ गतेका लागि परीक्षा मिति तोकिएको थियो। सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थीहरुलाई ग्रेड वृद्धिको मौका दिन पूरक परीक्षा लिन लागिएको हो।

दुई विषयमा अनुपस्थित विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ। सहसचिव अधिकारीले ०७५ मंसिर २६ गतेदेखि परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हालेका थिए। एसईई पूरक परीक्षा आउन २० दिन बाँकी रहँदा परीक्षा नियन्त्रकको जिम्मेवारीबाट मुक्त भए।

पूरक परीक्षाको मुखैमा परीक्षा नियन्त्रक किन फेरियो भन्ने अहिले चासो छ। स्रोतका अनुसार अधिकारीले पर्याप्त जनशक्ति नभएकाले कार्यसम्पादनमा गाह्रो भएको गुनासो गर्दै आएका थिए। किनभने साविकको ६४ जनाको दरबन्दी कटौती गरेर परीक्षा नियन्त्रण कार्यालयमा २३ दरबन्दी कायम गरिएको छ। काजमा कार्यरतसहित हाल ३५ कर्मचारीले कार्यालय धान्दै आएका छन्।

आवश्यकताअनुसारको जनशक्तिको व्यवस्था नभएपछि उनी आफैंले जिम्मेवारी मुक्त गरिदिन आग्रहसहित मन्त्रालयमा पत्र लेखेका थिए।  त्यो कुराको पुष्टि गर्दै अधिकारीले भने, ‘म बूढो मान्छे कति खट्नु, बरु युवा जोश भएकालाई जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर म आफैंले परीक्षा नियन्त्रकको जिम्मेवारीबाट अलग हुन्छु भनेको थिएँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्