काठमाडौँ, ११ साउन (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन्।
लियो क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्याउन सक्छ।”
उनले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताए। “दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उनले भने, “नेपालको इतिहास र भूमि उर्भरभूमि हो। नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ। नेपाल संसारको अग्लो टाकुरा भएको देश हो, जहाँबाट बोलेको संसारभर सुनिन्छ।”
अध्यक्ष प्रचण्डले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानव जातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह पनि गरे।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह लगायतले देशको विकासका लागि युवाशक्ति नै केन्द्रित हुनुपर्ने बताए।



लाेकपाटी न्यूज

