‘मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस्’ : मन्त्री खनाल

14
लाेकपाटी न्यूज

काठमाडौं, १२ साउन । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमूखहरूलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गरिएको छ। छलफलमा क्वारेन्टाइन प्रमूखहरुले आफ्ना गुनासा राखेका थिए।

क्वारेन्टाइन प्रमूखहरुले भन्सारले धेरै दुःख दिने गरेको भन्दै क्वारेन्टाइनमा बसेर काम गर्न गाह्रो भएको गुनासो राखेका थिए। उनीहरुले हाकिमबाट धाकधम्की आइरहेको र बेलाबेलामा कुटाई समेत खानुपरेको बताए। व्यापारीले हैरान पार्ने, पत्रकारले पनि त्यस्तै हैरान पार्दै मन्त्री, सचीव र डिजिको नाम लिने गरेको बताए।

मन्त्रीको सोर्स लगाएर आउनेको काम नगर्नु भन्ने मन्त्रीको जवाफमा एक क्वारेन्टाइन अधिकारीले भने, ‘त्यसो गर्‍यो भने त कुट्छन्। सरकारले गराएको काम नगरे कारवाही गर्ला, एक तह घटुवा गर्ला, ज्यान त जान्न नि।, कृषि मन्त्री चक्रपाणि खनालले तीनवटै निकायको समन्वय नहुनु एउटा समस्या भएको बताए। मन्त्री खनालले भने अली ठूलोले सानोलाइ हेप्ने संसार भरिकै समस्या हो।

‘भन्सार र अर्थसँगको समन्वय बढाउनुपर्छ। उत्पादन बढाऔं।’ उत्पादन बढाउन कसैले नरोकेको भन्दै मन्त्री खनालले भने, ‘कर्मचारी कम, भौतिक संरचना र सेवा सुबिधा नहुनु समस्या भयो। त्यो समाधान हुन्छ। भौतिक पूर्वाधारका लागि तत्काल हुन्न कम्तीमा ३र४ वर्षको योजना बनाएर दिनुस्। तीन वटै क्वारेन्टाइनलाई व्यवस्थित गरौं। चेकजाँचलाई निरन्तर र कडाइ गरौं। हिजोका दिनमा अन्य देशबाट जसरी आइरहेको थियो त्यसरी त ल्याउन दिइन्न। असन्तुलित नबनौं।’

मन्त्री खनालले व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्न आग्रह गरेका छन् । उनले भने, ‘मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस्। तर जनताको काममा सहज बनिदिनुस्।’ मन्त्री खनालले अहिले प्राप्त ल्यावलाई राम्रोसँग चलाए  विषादी जाँच गर्न समस्या नहुने बताए। उनले भने, ‘अरु दुई तीन वटा ल्याव राखिन्छ। चेकजाँच निरन्तर हुन्छ त्यो आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तरता दिइन्छ।’

उनले भने, ‘भन्सारमा काम गर्नेले भत्ता पाउँछन् । ल्याव र क्वारेन्टाइनमा काम गर्ने कर्मचारी जोखिम मोलेर काम गर्छन्  । तर भत्ता छैन त्यसको बारेमा अर्थसँग छलफल गर्छौं।’

यस्तै, पशुपन्छी सचीव प्रकाश माथेमाले सबै तिर समान समस्या रहेको बताए। त्यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधान गर्नु पर्नेमा जोड दिए।

त्यस्तै कार्यक्रममा कृषि सचिव युवकध्वज जिसीले समायोजनका कारण कर्मचारीमा समस्या आएको हुन सक्ने बताए। जिसीले भने, ‘कहाँ-कहाँ समस्या छ त्यसको बारेमा पनि जानकारी गराउनु होला। कानूनमा भएको अधिकार प्रयोग गर्दै उच्च मनोबलका साथ काम गर्नुस्।’

पशुपन्छी तर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्