दैलेखमा पेट्रोलियम अन्वेषणको अवस्थाबारे चिनियाँ टोलीसँग छलफल

लाेकपाटी न्यूज

काठमाडौं, १२ साउन । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भइरहेको पेट्रोलियम पदार्थको अवस्थाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चासो व्यक्त गरेका छन् ।

सो अन्वेषणको हालसम्मको अवस्थाबारे मन्त्री यादवले आईतबार चिनियाँ टोलीसँग छलफल गरेका छन् । चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री यादवले उक्त कार्यको हालसम्मको प्रगति बारे जानकारी लिएका हुन् ।

मन्त्रीसँगको छलफलमा चिनियाँ टोलीले उक्त पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा हालसम्म ‘जियोलोजीकल म्यापिङ्ग’ सम्मको काम सम्पन्न भएको जानकारी गराएका थिए । भेटघाटको क्रममा चिनियाँ टोलीले अब ‘म्यागनेटो टेलरिक’ र ‘टु डी सिस्मिक सर्वे’ गरि प्रोफाईल लाईन यकिन गर्नुपर्ने काम बाँकी रहेको र उक्त कामका निम्ति मन्त्रालयसँग आवश्यक उपकरण आयातका काममा सहयोगको अपेक्षा गरेका थिए ।

जवाफमा मन्त्री यादवले उक्त अन्वेषणका निम्ति चाहिने आवश्यक उपकरणहरु आयात कार्यमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सिस्मिक सर्वे पश्चात् ड्रिल गर्ने स्थलहरूको पहिचान हुने र यी कार्यहरू यसै वर्षको अक्टोबरबाट थालिने चीनियाँ टोलीले जानकारी गराए ।

दैलेखमा उक्त पेट्रोलियम अन्वेषणको कार्य चिनियाँ पक्षले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हाे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्