काठमाडाैं, १२ साउन । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) काे विभाग र आयोगको टुंगो लगाउन आज दिउँसो बस्ने भनिएको सचिवालय बैठक फेरि सरेकाे छ ।पार्टी स्कूल विभागकाे जिम्मेवारी कसले पाउने भन्नेमा विवाद बढ्दै जाँदा नेकपा एकचताले पूर्णता पाउन सकेकाे छैन ।
नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठक सोमबारसम्मका लागि सरेको जानकारी दिए। नेकपाले आइतबार अपरान्ह ३ बजे सचिवालयको बैठक बोलाए पनि बैठक नबसी स्थगित गरेको हो। अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा नेकपामा विवाद जारी छ। सो विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन्।
संगठन र विदेश विभाग पूर्वएमालेले लिन सहमति यसअघि नै भइसकेको छ। संगठन र विदेश पूर्वएमालेले लिएपछि स्कुल विभाग आफूले पाउनुपर्ने पूर्वमाओवादी समूहले दावी गर्दै आएको छ।
पूर्वमाओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो। पूर्वएमाले समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा दावी गरेका छन्।
स्कुल विभागमा सहमति जुट्न नसकेपछि यसअघि पनि सचिवालय बैठक पटक–पटक सरेको थियो।



लाेकपाटी न्यूज

