चितवन, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले आज आइतबार पद बहाली गरेका छन्। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका खनाललाई पार्टीको केन्द्रीय सचिवालयले जिल्ला इञ्चार्ज तोकेपछि आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पद बहाली गरेका हुन्।
इञ्चार्ज खनाललाई पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजीतले स्वागत गरेका थिए। पद बहालीपछि जिल्ला इञ्चार्ज खनालले पार्टीले दिएको जिम्मेवारीलाई आफूले कुशलतापूर्वक निर्वाह गर्ने भन्दै साउन महिना भित्रै तल्ला कमिटीको बैठक राखेर कामलाई तिब्रता दिने बताए। उनले भने ‘पार्टीले दिएको जिम्मेवारीलाई म पूरा गर्ने छु, अब तल्लो तहसम्म काम देखिनेछ साउन महिना भित्रै बैठक बस्ने छ।’
राजनीतिक उपलब्धीलाई संस्थागत गरेर सरकारको कामलाई जनतामाँझ लैजानु पर्ने दायित्व रहेको उनले बताए। ‘दुई धारको स्कूलिङबाट आएका हामी एकै धारबाट जाने अभ्यासमा हामी छौं’ उनले भने ‘यसलाई सहजै लैजानेमा विश्वास दिलाउछौं।
’उनले साउन महिना भित्र जिल्लाको ९८ वडा, ७ वटा स्थानीय तह, ३ वटा संघीय निर्वाचन क्षेत्र, ६ वटा प्रदेश निर्वाचनको बैठक बसेर कामको जिम्मेवारी दिने बताए। नेतृत्वको शुरुमा होइन अन्तिममा मुल्यांकलन गर्ने भएकाले आउँदा दिनमा कामको खबखरदारी गर्न कार्यकर्तालाई अनुरोध गरे।
नेपालको कम्युनिष्ट इतिहासमा अहिलेको जस्तो अवसर नआएको भन्दै यो अवसरलाई विकास निर्माण र जनताको आवश्यकतालाई पूरा गर्नेमा आफूले भूमिका निर्वाह गर्ने बताए। ३ नं. प्रदेशका सांसद समेत रहेका खनालले नेतृत्वले गरेका राम्रा कामलाई प्रचार र कमजोरीलाई खबरदारी गर्न अनुरोध गरे।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष परियारले पार्टीको पूर्णताले जिल्लामा सहज भएको बताए। जिल्ला इञ्चार्ज तोकिएपछि अभिभावकको महसुस भएको भन्दै पार्टीको कामलाई सहज हुने बताए।
कार्यक्रममा जिल्ला इञ्चार्जलाई नेकपा जिल्ला कमिटी तेजेन्द्रबहादुर खड्का, सदस्य कृष्णराज न्यौपाने (लब्ली), प्रकास ढुंगाना, प्रदिप पोखरेल, नेताहरु धर्म कार्की, बद्री तिमल्सिना, सीता वसेल, सुर्यबदना हमाललगायतकाले बधाई तथा शुभकामना दिएका थिए।



लाेकपाटी न्यूज

