काठमाडौं, १२ साउन। अब सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनको आधिकारिकता खोजिने भएको छ। विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गरिनुपर्ने विषयमा संसदको विकास तथा प्रविधि समिति सहमति जुटाएको छ।
विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका लागि आज बसेको विकास समितिको बैठकमा सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई पनि विधेयकले समेटनु पर्ने विषय उठाएका थिए।
विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ। विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ।
त्यसमा सांसदहरुले सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए। बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सामाजिक सन्जाललाई पनि समेट्दा केही फरक नपर्ने भनेपछि समितिले त्यसलाई पास गरेको हो।



लाेकपाटी न्यूज

