अब छाउपडी नबार्नेलाई ५ हजार पुरस्कार दिइने

लाेकपाटी न्यूज

काठमाडाैं, १० साउन । डाेटीकाे पूर्वचाैकी गाउँपालिकाका अध्यक्षले छाउ नबार्नेलाई पाँच हजार पुरस्कार दिने घाेषणा गरेका छन् । गाउँपालिकाले यस सम्बन्धी नीति नै पारित गरेर छाउपडी नबारेर घरभित्रै परिवारसँग बस्नेलाई ३ देखि ५ हजारसम्म पुरस्कार दिने भएकाे गाउँपालिका अध्यक्ष दीर्घराज बाेगटीदे बताए ।

त्यस्तै छाउपडी बारेर यस्तो कुप्रथालाई निरन्तरता दिनेलाई गाउँपालिकाले दिने सेवासुविधाबाट बन्चित गराएर दण्डित गरिने कार्यक्रम समेत पारित गरेको उनले बताए।

छाउपडी प्रथा (महिनावारी) का कारण धेरै विवाहित तथा अविवावाहित महिला मात्र नभएर बालबालिकाले समेत ज्यान गुमाइरहेका घटना सबैलाई अवगत भएको कुरा हो । यस्तो छाउपडी प्रथा हटाउनका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लागी परेपनि यस्ता घटनाहरु कम हुन नसकेको अवस्था छ । तर, स्थानीय सरकार नै यस्तो प्रथा हटाउन लागी परेमा समाजबाट यस्तो प्रथा निर्मूल पार्न सकिन्छ भनेर गाउँपालिका यसमा लागी परेको उनले बताएका छन् ।

आजको २१ औ शताब्दिमा पनि सुदूरपश्चिममा जकडिएको छाउपडीजस्तो कलंकित परम्परालाई निरन्तरता दिँदै यसद्धारा महिलामाथि गरिएको हिंसालाई पूर्णरुपमा हटाउनुपर्छ भन्ने उद्धेश्यले यस्तो कार्यक्रम ल्याएको अध्यक्ष बोगटीले बताए । उनले भने, ‘छाउगोठमा जो बस्दैन, जसले छाउ बार्दैन, परिवारसँगै घरमा बस्छ, त्यस्तालाई पुरस्कृत गरिनेछ । जसले छाउ बार्ने भन्दै कानूनलाई नै चुनौति दिन्छ त्यस्तालाई कारबाही स्वरुप गाउँपालिकाबाट दिइने सुविधा, मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता, बिवाह दर्ता लगायतका सुविधाबाट बन्चित गराइनेछ ।’

अध्यक्ष वोगटीले आजको युगलाई मूल्यांकन गरेर सबैले परिवर्तन हुनुपर्ने समय आएको समेत बताए । उनले भने, ‘युरोप लगायतका देशमा पनि यो प्रथा हटिसकेको छ तर हामीमा मात्र किन यस्तो मानसिकता, यो त मानब अधिकार हनन नै भयो ।’

गाउँपालिकाले महिलाको शसक्तिकरणका लागि अन्य विभिन्न कामहरु समेत गर्दै आएको छ । गाउँपालिकाका सबै वडाबाट २–२ जना महिलाहरुलाई समावेश गरेर स्वीटर बुनाई तालिम तथा मेसिन प्रदान गरेको छ । महिलाहरुले बुनेको स्वीटर गाउँपालिकाका सबै स्कुलका विद्यार्थीले लगाउनै पर्ने अनिवार्य गरेर गाउँपालिका आफैले बजारको व्यवस्था समेत गरेको छ । त्यस्तै व्यवसायिक तरकारी खेती गर्नेलाई ५० हजार सम्म अनुदान दिदैं आएको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिब, विपन्न, तथा रोजगारविहिन महिलाहरुको छनौट गरेर उनीहरुलाई विभिन्न काममा खटाइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्