काठमाडाैं, १० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्युबा विश्वका कम्युनिष्टहरुकाे आदर्शभूमि भएकाे बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरेका हुन् ।
क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको उनको भनाइ छ।
अध्यक्ष ‘प्रचण्ड’ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारा अघि सारेको पनि स्पष्ट पारेका छन्। सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको उनले बताए।
अध्यक्ष प्रचण्डले क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहका लागि आर्दश बनिरहने दाबी गरे। उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे।



लाेकपाटी न्यूज

