बुटवल, ९ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले दुई जनाले छलफल गरेर विभाग बनाउने, जिल्ला कमिटी इञ्जार्ज तोक्ने काम भएको भन्दै ठीक नभएको बताएका छन्।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो, व्यक्तिले समूह चलाउने होइन’, उनले भने।
प्रधानमन्त्रीको चासो हेर्दा पार्टी र सरकार एक्लै चल्न नसक्ने भन्ने कुरा बुझिएको भुसालको भनाइ छ। सरकार अनुकल पार्टी चल्नुपर्छ भन्ने सोचमा परिवर्तन आउनु सन्तोषको कुरा भन्दै उनले पार्टीमा सिद्धान्त र विचार कमजोर भए व्यक्तिका स्वार्थ हावी हुँदै जाने धारणा राखे।
‘पार्टीलाई व्यक्तिको प्रभावबाट मुक्ति गर्नुपर्छ,विधि स्थापित हुनुपर्छ’ भुसालले भने। सरकारले गरेका राम्रा कामहरु जनतासम्म पुग्न नसकेको र पार्टी पनि त्यही अनुरुप परिचालित हुन नसकेकोले कतिपय विधेयकहरु फिर्ता लिनुपर्ने अवस्था नरहेको बताए।



लाेकपाटी न्यूज

