काठमाडौं, ८ साउन । मेट्राे ट्राफिक एफएमकाे साताैं वार्षिकाेत्सव सम्पन्न भएकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमूख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमूख आतिथ्यमा साे कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सम्पन्न भएको हाे ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले मेट्रो ट्राफिक एफएमका विज्ञापनदाता संस्था तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई कदरपत्र एवं प्रशंसापत्र प्रदान गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सूचना प्रवाह महत्वपूर्ण र चुनौतिको विषय रहेको बताउँदै नागरिकहरुमा प्रहरीप्रति सकारात्मक धारणा बनाउन संचार माध्यमले उल्लेखनीय भूमिका खेल्ने बताए । सडक व्यवस्थापनमा लाग्ने सबै निकायहरुलाई समन्वय गरी एफएमका कार्यक्रम मार्फत नागरिकलाई सुरक्षित सडक यात्रामा सहयोग पुर्याउन समेत उनले अनुराेध गरे ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र रेडियो नेपालका उपनिर्देशक टिका भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले धन्यवाद ज्ञापन गरेकाे सो कार्यक्रममा प्रहरी उपरीक्षक रवि कुमार पौडेलले स्वागत मन्तव्य व्यक्त तथा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक रामबाबु रानाले मेट्रो ट्राफिक एफएमको गतिविधिबारे जानकारी दिए ।
सीमित भौतिक पूर्वाधारको उपभोगबाट प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने विद्यमान अवस्थालाई मध्यनजर गर्दै यसलाई राज्यको प्रमुख प्राथमिकतामा राखी अझै बढी वैज्ञानिक तथा प्रविधियुक्त बनाउने दुरगामी सोचका साथ २०६९ साल श्रावण ८ गते उक्त एफएमको स्थापना भएको सो अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय–प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज
