सैनिक शिविरमा आक्रमण हुँदा ४ काे मृत्यु

लाेकपाटी न्यूज

एजेन्सी । सैनिक शिविरमा आक्रमण हुँदा चार जनाकाे मृत्यु भएकाे छ । दक्षिण थाइल्याण्डको एक सैनिक शिविरमा भएको साे आक्रमणमा ४ जनाको ज्यान गएको हाे ।

पत्तानी प्रान्तको दुर्गम क्षेत्रमा बन्दुकधारीले सैनिक शिविरमा भएको आक्रमण लडाकु र सुरक्षाकर्मीबीच घण्टौंसम्म भिडन्त भएको हो । आक्रमणमा परी मारिनेमा सेनाका एक वरिष्ठ अधिकारी, दुई सुरक्षा स्वयंसेवक र एक गाउँले छन् ।

आक्रमणका क्रममा गम्भीर घाइते भएका दुई जनालाई अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणमा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको थाई राज्यविरुद्ध आत्म निर्णयका लागि युद्ध गर्दै आएका दक्षिण थाइल्याण्डमा सक्रिय मले मुसलमान लडाकुको संलग्नता रहेको हुन सक्ने शंका गरिएको छ ।

केही समयअघि सुरक्षाकर्मीले एक संदिग्ध मले मुसलमान लडाकुलाई सोधपुछका लागि एक सैनिक शिविरमा लगेपछि आक्रोशित बनेका लडाकुले आक्रमण गरेको हुनसक्ने बताइएको छ । यस क्षेत्रमा १५ वर्ष यता जारी द्वन्द्वमा ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।