काठमाडौं। भारतीय जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न नेताका साथै सुरक्षा निकायका प्रमुखसमेतलाई भेटेको बताइएको छ। यद्यपि भेटलाई सम्बन्धित दलका नेता र सुरक्षा निकायले गोप्य राखेका छन् ।
शनिबार बिहान नेपाल आएका रअ प्रमुख गोयलले ‘सम्बन्ध बिस्तार’ उद्देश्यसहित भेटघाट गरेको स्रोतको भनाइ छ। गोयलले शनिबार राति ९ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेको स्रोतको दाबी छ।
राती १ बजेसम्म भएको भेटघाटमा चीन, पाकिस्तान र सार्कको विषयमा छलफल भएको थियो। पछिल्लो समय नेपालको मामलामा भारत कमजोर हुँदै गएको महसुस गर्दै भारत सरकारले यतातिर विशेष ध्यान दिएको छ। त्यसैले भारतीय सरकारले नियुक्त गर्ने बित्तिकै गोयललाई पहिला नेपाल पठाएको हो।
उनी असार २६ गते रअको प्रमुखमा नियुक्त भएका थिए। नियुक्त भएपछि उनको पहिलो भ्रमण नेपाल नै हो। नेपालमा भारतप्रतिको माहोल किन बिग्रेको छ, भारत विरोधी गतिविधि किन हुन्छ भनि जान्ने उद्देश्यका साथ उनी नेपाल भ्रमणमा आएको बताइन्छ।
नेपालमा चीनको लगानी र भारतको सीमासम्म उसको पहुँच कसरी भयो, यसमा नेपाल किन संवदेनशील नरहेको भन्नेजस्ता विषयमा गोयलले प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। गोयलको टीमले सार्कको विषयलाई पनि प्रधानमन्त्रीसँग गम्भीर रुपमा उठाएको थियो।
भारतबाट पाकिस्तानको बालकोटमा भएको आक्रमणपछि नेपालले जारी गरेको विज्ञप्तिप्रति पनि गोयलले चासो राखेका थिए। भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई उचाइमा पुर्याउन सरकार र नेकपाले चाहेको धारणा राखेका थिए।
प्रधानमन्त्रीको सचिवालयले भने गोयलसँगको भेटको खण्डन गरेको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रअका प्रमुख गोयलसँग ओलीले कुनै भेटघाट नभएको दाबी गरे।
प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा गोयलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि बढेकोप्रति पनि चिन्ता व्यक्त गरेका थिए। नेपालमा विप्लव समूहको गतिविधि बढे भारतमा पनि त्यसको प्रभाव पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न उनले सुझाव दिएको बताइन्छ।
सो क्रममा ओलीले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सरकार कारवाही प्रक्रियामा गइसकेका बताएका थिए। विप्लव समूहलाई भारतीय संस्थापन पक्षले संरक्षण गरिरहेको आशंकाका बीच गोयलले भने आफूहरु विप्लव समूहका गतिविधि नियन्त्रण होस् भन्ने चाहेको सन्देश छोडेर गएका छन्।
गोयलले प्रधानमन्त्री ओली र प्रचण्डबाहेक अरु सबैलाई महाराजगञ्जस्थित एक जनाको नीजि घरमा भेटघाट गरेको स्रोतको दावी छ। सो घरमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल, वामदेव गौतम, प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग गोयलले छलफल गरेका थिए।
नेपाल भ्रमणका क्रममा गोयलका साथमा बृज भुषणसिंह तोमर र अरुण जैन पनि थिए। तोमर रअका ज्वाइन्ट सेक्रेटरीका साथै चीन साउथ एसिया डेस्कको प्रमुख पनि हुन्। जहाँ यसअघि (३० जुनसम्म) विवेक जोहरी थिए।
नेपालस्थित भारतीय दुतावासमा कन्सुलर भएर काम गरिसकेका अरुण जैन पनि साथमा आएका थिए। रअका ज्वाइन्ट सेक्रेटरी जैन नेपाल मामलाका जानकार मानिन्छन्।



लाेकपाटी न्यूज

