चितवन, ७ साउन। नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विश्वमा कम्युुनिष्ट पार्टीहरु क्रान्ती गर्न सक्ने तर सरकार सञ्चालन गर्न असफल हुने अवस्थाबाट नेपालले पाठ सिक्नु पर्ने बताएका छन्।
कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा चितवनको नारायणगढमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विश्व राजनीतिको इतिहासलाई हेरेर वर्तमान सरकारले कार्यशैलीमा परिवर्तन गर्नु पर्नेमा जोड दिए। ‘क्रान्ती गर्न हामी कम्युनिष्ट अगाडि छौं, तर सरकार सञ्चालनमा विश्वमा असफल भयौं’ उनले भने ‘यो यथार्थलाई बुझेर कार्यशैलीमा परिवर्तन गर्न नसक्ने हो भने नेपालमा सरकार ढल्न सक्छ।’
सरकारले आउँदा दिनमा कस्तो समाज निर्माण गर्ने, विश्वको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने दुरदर्शी सोचका साथ योजना ल्याउनु पर्नेमा जोड दिए। अबको समाज कस्तो बनाउने भन्ने विषयमा पार्टी भित्र छलफल नभएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने ‘नेपालमा सबैभन्दा ठूलो समस्या बेरोजगारी हो यसलाई हल गर्ने योजना ल्याउन नसके सरकार असफल हुन्छ। अहिलेपनि ४० लाख नेपाली विदेशिएका छन्। उनीहरुलाई नेपालमा ल्याउने, यही उद्यम गरी उत्पादनमा जोड दिने योजना अहिलको आवश्यकता भएको नेता पाण्डेले बताए।
उद्योगधन्दा स्थापना, बेरोजगारी हल गर्ने उपायहरु, उत्पादन हुने कार्यमा जोड दिन नसके सरकार असफल भएर जाने उनले बताए। अहिले केका लागि आन्दोलन गर्ने उनले भने स्थानीयदेखि संघसम्मका सरकारसँग उनले प्रश्न गरे। सबै समस्या हल गर्ने भनेर सरकार चलाइराखेको पार्टीले नै काम गर्न नसके कस्ले गर्दछ उनको भनाई थियो।
पुष्पलालको विचारलाइ सम्झर्दै उनले भने ‘कम्युनिष्ट पार्टीको विचार र यसको सिद्धान्तमा युवा पंक्तिलाई ल्याउन नसक्ने हो भने पार्टी पतन भएर जानेछ।’ पौंढ अवस्थाका व्यक्तिहरु मात्र बैचारिक बहस गर्ने र पार्टीको सिद्धान्तका विषयमा लाग्ने गरेको भन्दै युवाहरुको आकर्षण बढाउन आवश्यक रहेको बताए।



लाेकपाटी न्यूज

