ललितपुर, ७ साउन। ललितपुर महानगरपालिकाका प्रहरी प्रमूख कदमलाल महर्जन निलम्बनमा परेका छन्।महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले जानकारी दिए।
महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ। कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ।
महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए।
सोअघि सो स्थानमा उनले नै पार्किङ सञ्चालन गर्दै आएका थिए। गत असारबाट उनको सम्झौता सकिएर अर्को व्यक्तिले टेन्डर पारेपछि उनले पोखरीको शिलान्यास गराउँदा विवाद उत्पन्न भएको बताइएको छ।
महर्जनलाई कति समयका लागि निलम्बन गरिएको भन्नेबारे पत्रमा केही उल्लेख नभएपनि थप छानबिनपछि सेवाबाट हटाउने मनस्थितिमा मेयर चिरिबाबु महर्जन रहेको एक अधिकारीले जानकारी दिए।



लाेकपाटी न्यूज

