कार्यकर्ता रिहा नभए योजनाबद्ध प्रतिरोध गर्छाैं : विप्लव

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडाैं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने बताएका छन्।

सरकारले आफ्नाे पार्टीलाई नै प्रतिबन्ध लगाएर चरम दमन गरेकाे भन्दै विप्लवले यस्तो प्रतिकारबाट निस्किने प्रतिफलको भागिदार पनि स्वयम् सरकार नै हुने चेतावनी दिए। उनले सरकारले एकातिर वार्ताको प्रचार गर्ने र अर्कातिर आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर देशलाई युद्धमा धकेल्ने काम गरेको समेत आरोप लगाए।

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेकाे सरकार देशमा शान्ति, समृद्धि र विकासकाे पक्षमा नरहेर जबर्जस्त युद्धमा धकेली जनतामाथि थप शाेषण र दमन गर्न उद्दत रहेकाे बताएका छन् ।

‘केपी–बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकास पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्न, दमन थोपर्नका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’ विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले शनिबार राति गिरफ्तारीमा परेका माइला लामा र जेलमा रहेका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ लगायत नेताहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन्।