म्याग्दी, ७ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता म्याग्दीबाट पक्राउ परेका छन्।
तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका ३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।
पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वा्चित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरी नायव उपरीक्षक मरासिनीको भनाइ छ।
यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको पाइएको उनले जानकारी दिए। पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरिएको छ। उनीहरुमाथि अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

