कांग्रेस इतिहासकै कमजाेर र निकम्मा भयाे : टाेपबहादुर रायमाझी

Top-Bahadur-Rayamajhi
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय इतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन् । उनले भने, ‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले भने, ‘तर्क, सर्क केही छैन बन्द भन्यो भैगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ ।’
रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे । उनले भने, ‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’

उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे । उनले भने, ‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकता छैन। वर्तमान प्रधानमन्त्रीको विकल्प छैन । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन ।’

रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पारे । उनले भने, ‘द्वन्द्व, विवाद र अन्तरविरोध हुनु स्वभाविक हो । यसलाई मैले सहज रुपमा लिएको छु । पार्टी एकताको अधिकांश काम सम्पन्न भैसकेका छन् । जनवर्गीय संगठन र विभागहरुको नेतृत्वको कुरा छ । यो पनि अब पार्टीको नेतृत्वले चाँडै टुँगो लगाउँछ ।’ पार्टीलाई सही दिशमा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भैरहेको उनले जनाए ।

रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिए पनि यसले निरन्तरता नपाउने जिकिर गरे । उनले भने, ‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन।’ वर्तमान सरकार विगतकोजस्तो पूरानो सरकार नभएको जिकिर गर्दै अब विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नेगरि द्रुत गतिमा काम गर्नुपर्ने उनको सुझाव थियो ।

उनले भने, ‘साना–साना नतिजाहरुभन्दा पनि यो सरकारले अब ठूला ठूला नतिजा दिनेगरि काम गर्नुपर्छ । अब विस्तारै सरकारले गरेका कामका नतिजाहरु आउँदैछन। जस्तो अहिले पाइपलाइनबाट तेल ल्याउन काम भैरहेको छ । अब क्रमशः नतिजाहरु आउँछन् । मेलम्चीको पानी पनि अब चाँडै आउँछ ।’ काठमाडौंमा धुलो, धुँवामा अहिले सुधार आएको पनि उनको दाबी छ । उनले भने,‘विरोधको नाममा विरोध गरेर हुँदैन्, अहिले धुलो धुवाँको अवस्थामा सुधार आएको छ ।’ प्रतिपक्षी दलले कुनै कुरा नै उठाउन नसकेको उनको ठोकुवा छ ।