समाधान नेपाल
विश्वभर र नेपालमा पनि केही कट्टर पूँजीवादी वा कम्युनिस्ट इतरलाई मार्क्सवादको नाम सुन्नसमेत डर लाग्छ। उनीहरु घिनाउने भावमा अत्यन्तै निकृष्ट शैलीमा कार्ल मार्क्सप्रति बैरभाव राख्दै कार्ल मार्क्सको मानव उपयोगी दर्शन र व्यवहारलाई आत्मसात गर्न त परै जाओस्, अध्ययन गर्न, छलफल गर्नसमेत हिच्किचाउनुले उनीहरु साँच्चिकै कति दुखदायी र कष्टपूर्ण जीवन बाँचिरहेका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ।
आजसम्म जीवन र समाजको ब्याख्या गर्ने काम धेरै विद्वान वर्गबाट भएको तर जीवन र समाज बदल्ने काम छुटेको भन्ने उद्घोष गरेका कार्ल मार्क्सको आजभन्दा २०० वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्म भएको थियो। विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सले आजसम्मको मानव इतिहास वर्गसंघर्षको इतिहास हो भनी सम्पूर्ण जीवन र समाजलाई वैज्ञानिक ढंगले ब्याख्या गरे।
जीवन र जगतलाई हेर्ने परम्परावादी, भाग्यवादी, अन्धईश्वरीय, काल्पनिक मिथ, दर्शन विचारलाई खण्डन गर्दै कार्ल मार्क्सले जीवन र जगतलाई वैज्ञानिक रुपमा परिभाषित गरे। जीवन र समाजलाई समानता, शान्ति र समृद्धिमा रुपान्तरण गर्न अनावश्यक लोभ लालचमा नलागी समाजका सम्पूर्ण उत्पीडित, शोषित वर्गलाई एक हुन आह्वान गरे।
कार्ल मार्क्सको १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रमा समाजको इतिहास, वर्ग संघर्ष, पूँजीवाद, सर्वहारावर्ग, आगामी समाज लगायत विषयमा गहन ब्याख्या र विश्लेषण गरेका छन्। उनले वैज्ञानिक तर्क, तथ्यको आधारमा समाजवाद, साम्यवादसम्मको यात्रामा जीवन समाज रुपान्तरण हुने थेसिस प्रस्तुत गरे।
पूँजीवादको अवधारणालाई कार्ल मार्क्सले ‘पूँजी’ भन्ने किताबमार्फत् स्पष्ट बनाए। यस पुस्तकले पूँजी कसरी निर्माण प्रक्रिया र पूँजीवाद कसरी श्रमिकको श्रमको शोषण गरेर मौलाउँछ ? भन्ने व्याख्या गरेको छ। पूँजीवादी समाजमा मानव श्रमलाई किनबेच गर्न सकिने साधनको रुपमा लिइन्छ। उनीहरुको सामाजिक जीवन वस्तुसरह बेचबिखन भएको हुन्छ, जहाँ मानवता, दया, अधिकार सबै कुण्ठित भएका हुन्छन्। पूँजी पुस्तकमा सबिस्तार गरिएको अतिरिक्त मूल्यको सिद्धान्त आज पनि अर्थशास्त्रमा उच्च महत्वका साथ पढाइन्छ।
मार्क्सवादका तीन महत्वपूर्ण संघटक अंग द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, श्रमको मूल्य सिद्धान्तमा आधारित राजनीतिक अर्थशास्त्र र वर्गसंघर्ष पश्चातको वैज्ञानिक समाजवाद। उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षको बीचबाट दर्शनको जन्म भएको हो। मार्क्सवादी दर्शन सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो। मार्क्सवादको दर्शनले समाजमाथि विद्यमान शोषण, उत्पीडन, अन्याय र अत्याचारले व्याप्त सामाजिक व्यवस्थालाई बदली त्यसको ठाउँमा सुखी, सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्न चाहन्छ।
जीवन र जगत बुझ्न ब्याख्या र परिवर्तन गर्न दर्शनको ठूलो महत्व हुन्छ। हामी तर्क एवं विषयवस्तुलाई स्पष्ट नपारिकन विरोधाभाषपूर्ण बनाइरहेका हुन्छौं । यो निश्चित छ कि थोरै द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि हाम्रा जीवनका धेरै जटिलताहरु, धेरै दुःख–कष्टहरुबाट जोगिनेछौं र धेरै गल्तीहरू हट्नेछन्। मार्क्सवादलाई तपसिल बमोजिम मूख्य प्रस्तावनाहरुमार्फत् जीवनोपयोगी चिन्तन मनन गरौं।
(१) बिपरितको एकता र सङ्घर्षको नियम
मार्क्सवादको महत्वपूर्ण प्रस्तावना बिपरितको एकता र सङ्घर्षको नियमले एउटा वस्तु आफैमा स्वतन्त्र रहन सक्दैन भन्ने तर्क गर्दछ। यसले कुनै वस्तु, समाज र चिन्तनमा निरन्तर द्वन्द्व हुन्छ र त्यसले विकास निम्त्याउँछ र त्यो अघिल्लोभन्दा नयाँ रूपमा उदाउँछ भनि तर्क गर्दछ। यस नियमअनुसार कुनै पनि कुरामा सकारात्मक र नकारात्मक अनि जीवनशील र मरणशील तत्त्वको द्वन्द्व हुन्छ। ती दुवै पक्षमा सङ्घर्ष पनि हुन्छ र मेल पनि हुन्छ। यस्तो द्वन्द्वले गति वा विकासलाई नै अघि बढाइरहेको हुन्छ।
यसरी प्रत्येक वस्तु, सम्बन्ध, प्रक्रिया र विचारमा समेत प्रतिपक्ष पनि रहने अनि तिनीहरूकै सङ्घर्षमार्फत् उन्नत तत्त्वको निर्माण पनि हुने कुरालाई द्वन्द्वात्मक भौतिकवादको महत्त्वपूर्ण नियमका रूपमा लिइन्छ। हामीले हाम्रो जीवनका विभिन्न कालखण्डमा यो नियमको उपयुक्त सन्तुलन र प्रयोग गर्न जान्नुपर्दछ। यसले पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, विचार मन्थन, छलफललाई यसैबाट प्राप्त उत्तम परिणामको रुपमा लिई असल र सुसंगत सम्बन्ध र चिन्तन विकास गर्न मार्गदर्शन गर्दछ।
(२) संख्यात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम
द्वन्द्वात्मक भौतिकवादको (मार्क्सवाद) अर्को महत्त्वपूर्ण प्रस्थापना हो जसले सुरुमा विचार, चिन्तन सम्बन्ध, समाज वस्तुको मात्रात्मक परिवर्तन हुने र त्यही क्रम बढ्दै गएर पछि गुणमा परिवर्तन हुन्छ भन्ने तर्क गर्दछ। यसले पहिले वस्तुको मात्रात्मक आयतनमा वृद्धि देखापर्छ र निश्चित सीमापछि त्यसको स्वरूप र गुण दुवैमा परिवर्तन देखिन्छ भन्ने द्वन्द्ववादी मान्यता प्रस्तुत गरेको छ।
पदार्थका सन्दर्भमा मात्रात्मक रूपमा पानी उम्लँदै गएर बाफमा परिणत हुनु, प्राणीमा लार्भाबाट पुतलीको निर्माण हुनु पनि मात्रात्मकबाट गुणात्मक परिवर्तन मानिन्छ। यो नियमलाई जीवनका विभिन्न कालखण्ड, विभिन्न परिवेश, सम्बन्ध तथा अन्य विषयमा प्राप्त हुने चरण र रुपमा ग्रहण गरी त्यसको उपयुक्त मानसिक तथा भौतिक ब्यवस्थापन गर्ने विधिको विकास गर्न सक्नुपर्दछ।
(३) निषेधको निषेध सम्बन्धि नियम
यस प्रस्तावनाले कुनै वस्तु, विषय, सोंच, समाज परिवर्तनका क्रममा पुराना रुपहरु निषेध भई नयाँ स्वरुपको विकास हुन्छ। वस्तुमा रहने ह्रासशील तत्त्वको निषेध हुने अविच्छिन्न प्रक्रियालाई निषेधको निषेध सम्बन्धि नियमले व्याख्या गरेको पाइन्छ। मकैको बिउ छरेपछि बोट उम्रन्छ र छरेका दानाको निषेध हुन्छ। पुनः बोटबाट घोगा निस्कन्छ र त्यसले बोटको निषेध गर्छ। निषेध एउटा सकारात्मक प्रगति हो, जुन खालि त्यसको विकासबाट मात्र सम्भव हुन्छ, जसको निषेध गरिन्छ। यो प्रक्रिया प्रकृति, मानव समाज तथा चिन्तन लगायत सबैमा लागू हुन्छ। हामीले हाम्रो जीवन पद्दतिलाई बुझ्न र ब्याख्या गर्न यो विधिले महत्वपूर्ण योगदान गर्दछ।
(४) ऐतिहासिक भौतिकवाद
यो समाजको विकासक्रमलाई ब्याख्या गर्ने, बुझ्ने विधा हो। यो सामाजिक इतिहासलाई अध्ययन गर्ने मार्क्सवादी दृष्टिकोण हो। समाजको विकासमा काल्पनिक ईश्वरीय योगदान वा भाववादी एवं अधिभौतिकवादी मान्यताको खण्डन गरी द्वन्द्वात्मक भौतिकवादी नियमअनुसार समाज विकासलाई केलाउँछ।
मार्क्सवादले कुनै पनि संश्लेषण र सम्वादको निर्माण हुनको निम्ति वाद र प्रतिवादको आवश्यकता पर्दछ, यसले उपयुक्त जीवन समाधान निकाल्न मद्दत गर्ने कुरालाई जोड दिन्छ। मार्क्सवाद मानिसको विश्व दृष्टिकोणका साथै प्रकृति, जीवन, समाज र चिन्तनका चालकका नियमहरुको विज्ञान हो। जब मानिसले जीवन र जगतको सम्बन्धमा तार्किक चिन्तन र ब्याख्या गर्न थाल्यो, तब दर्शनको उदय भएको मार्क्सवादको तर्क छ।
प्रकृति, जीवन, समाज र चिन्तनलाई विभिन्न आयामले नाप्ने, बुझ्ने र ब्याख्या गर्दा जीवन पद्दति सुन्दर र सन्तुलित बन्नेछ। दर्शनलाई जीवनोपयोगी बनाई जीवन सरल र सुखी बनाउनु हामी सबै मानवको दायित्व हो र यसैले सबैको कल्याण गर्दछ। जीवनलाई बिभिन्न कोणबाट, बिभिन्न आयामबाट बुझी यसलाई खुशी बनाउन मार्क्सवादले महत्वपूर्ण भूमिका खेलेको छ।
(१) बृहत र सुक्ष्म
हामीले विषयवस्तुलाई बृहत र सुक्ष्म दुवै ढंगले हेरी सन्तुलित दृष्टिकोण निर्माण गर्नुपर्दछ। जीवन, वस्तु वा घटनाहरुलाई दुवै कोणबाट बुझ्ने र ब्याख्या गर्ने सीपको विकास गर्नुपर्दछ। साझा लक्षण तथा चरित्रको रुपमा बृहत वा समष्टिलाई लिने गरिन्छ भने वस्तु वा घटनाको पृथक वा विशिष्ट लक्षण एवं चरित्र विशेष वा सुक्ष्म हो। यी दुवै दृष्टिकोणले पूर्ण जीवन, वस्तु वा घटनालाई हेर्न र बुझ्न मार्गदर्शन गर्दछ।
(२) कारण र परिणामको सम्बन्ध
परिणामलाई मात्र ध्यान दिँदा जीवन अपूर्ण हुन्छ, यसर्थ कारणका विविध पक्षलाई मध्यनजर गर्ने, सम्भावित परिणामको आंकलन गर्ने खुबी विकास गर्नुपर्दछ। कारणले कार्यलाई निर्देशित गर्दछ अर्थात् कारण बिना कार्य हुदैन। यसर्थ कार्य वा परिणामको र कारण सम्बन्धि ज्ञानले वैज्ञानिक विश्लेषणलाई जोडबल गरी उपयुक्त समाधान निकाल्न सहज हुन्छ।
(३) सार र रूप
हरेक विषयका सार र रुप अर्थात् विषयवस्तु वा घटनाका देखिने र लुप्त पक्षहरु हुन्छन्, तिनीहरुको विश्लेषण गर्ने खुबी विकास गर्नुपर्दछ। रणनैतिक जोडबलमा दुवैको महत्व, आवश्यकता जीवनमा उपयोग गर्न जान्नुपर्दछ।
(४) सम्भावना र वास्तविकता
जीवनका यी दुवै आयामलाई बुझ्न र ब्याख्या गर्ने सीप र खुबी मार्क्सवादले प्रदान गर्दछ। सम्भावना दुवै अपेक्षित र अनपेक्षित परिणाम हो। यो व्यवहारमा लागू भएपछि वास्तविक हुन्छ। सम्भावनालाई उपयुक्त बिधिबाट बास्तविकतामा परिवर्तन गर्न सीप खुबी विकास गर्नुपर्दछ।
(५) नियमितता र आकस्मिकता
जीवनका बिभिन्न पाटोलाई नियमितता र आकस्मिकताको कसीमा जोख्नुपर्दछ। नियमित क्रियाकलापबाट कहिलेकाहीँ जीवनमा बिश्राम लिई जीवन फड्को मार्ने क्षमताको विकास गर्नुपर्दछ भने आकस्मिकता प्राप्त गर्दा धेरै आत्तिने र मात्तिने गर्नु हुँदैन। पदार्थको गतिका नियमको आधारमा निश्चित समय र प्रक्रियामा घटना घट्नु अनिवार्यता हो भने अनिश्चित रुपले अचानक कुनै घटना घट्नु आकस्मिकता हो। वर्षा हुनु र लगाएको बाली तयार हुनु नियमितता हो भने असिनाले बाली नष्ट गर्नु आकस्मिकता हो। यी दुवै जीवनमा प्राप्त हुने र हुनसक्ने अवसरलाई प्रयोग गर्न जान्नुपर्दछ।
मार्क्सवादी दर्शनले प्रकृति, विज्ञान र समाज विज्ञानका विविध शाखाहरूमा वैज्ञानिक विश्व दृष्टिकोण प्रदान गरी जीवनलाई सहजीकरण गर्दछ। यसले मूख्यतः सारमा विश्व ब्रह्माण्डमा सारा चीजहरू दुई परस्परविरोधी तत्व वा वस्तु मिलेर बनेको हुन्छ भन्ने विषयलाई जीवनमा आत्मसात गर्न, बुझ्न सिकाउँछ।
मार्क्सवादी दर्शनले संसारमा जहाँ पनि विरोधी कुराहरू सँगसँगै गाँसिएका हुन्छन्। यसको उपयुक्त सन्तुलन र व्यवस्थापनमा ध्यान दिई जीवनलाई सुखमय बनाउनुपर्दछ भन्ने जीवनोपयोगी शिक्षा दिन्छ। मार्क्सवादी दर्शनले हरेक वस्तुभित्र आपसी द्वन्द्व, संघर्ष वा टक्कर चलिरहन्छ र यसै द्वन्द्वले नै हरेक कुराको जीवन वा अस्तित्व बनेको छ भन्ने बोध गराई जीवनको जटिलताभित्र सरलीकरण लुकेको तथ्य स्पष्ट गर्दछ।
मार्क्सवादी दर्शनले हरेक कुरा गतिशील, विकासशील र परिवर्तनशील छन् भन्ने तर्क पुष्टि गर्दै जीवनका अनपेक्षित घटना, व्यवहार र कर्मलाई समेत सरलीकरण गर्न मद्दत गर्दछ। किनकि सधैं सोचेजस्तो र स्थिर जीवन होइन, अस्थिर पनि छ भन्ने महत्व बुझाउँछ। यसर्थ, जीवनका बहुआयामिक पक्षहरुलाई बुझ्न, जीवन व्यवहार जान्न, सामाजिक सम्बन्ध र सहकार्यको द्वन्द्धात्मक सम्बन्ध बुझ्न र ब्याख्या गर्न जो कोहीका लागि पनि मार्क्सवाद लागू हुन्छ।
मार्क्सवादले समानतालाई जोड दिन्छ। हाल विश्वमा १ प्रतिशत धनाढ्यले विश्वको कुल सम्पत्तिको ५० प्रतिशत हिस्सा संकेन्द्रण गरेको छ, जुन विश्का ६० प्रतिशत नागरिकको सम्पत्तिभन्दा बढी रहेको तथ्य एक अध्ययनले बताएको छ। नेपालमा पनि सम्पत्ति बितरणको असमानता धेरै बढेको छ। ठूला ठूला कुराभन्दा पनि मार्क्सवादी दर्शनलाई यो असमानतालाई न्यून गर्ने, मानवीयता प्रवद्र्धन गर्ने र जीवनलाई सुखी र शान्तमय बनाउने महत्वपूर्ण विधाको रुपमा विकास गरिनुपर्दछ।
(- लेखक नेपाल अर्थशास्त्र विषयमा विद्यावारिधि गर्दैछन्।)



लाेकपाटी न्यूज

